काठमाडौँ: विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहेक विभिन्न मुलुकमा २४३ नेपालीहरुको मृत्यु भएको छ ।

गैरआवासिय नेपाली संघको स्वास्थ्य समिति संयोजक डा.सञ्जिव सापकोटाका अनुसार यो संख्या विभिन्न १६ मुलुकमा भएको नेपालीको मृत्युको संख्या हो । यो साता मात्रै ४३ नेपालीको निधन भएको उनले बताए । संघका अनुसार गत मार्च यता साउदी अरबमा मात्र ४१ जना नेपालीको मृत्यु भएको छ । साउदीमा सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको कुल संख्या भने ५२ पुगेको छ । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ । तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् ।

साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।