सुनसरी: चाडपर्व नजिकिदै गएपछि इटहरीमा बजार अनुगमन शुरु भएको छ ।

आज इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी बजारमा अनुगमन भएको हो । समितिले हटिया लाइनमा सडकको दुवैतर्फ सडकक्षेत्र मिचेर राखिएका समाग्री हटाउन लगाएको छ । आज पहिलो दिन भएकोले सचेत गराइएको र पुनःसडकमा सामान राखिएको पाइए कानुन वमोजिम कारवाही गरिने उपमेयर गौतमले बताइन् ।

अनुगमनको क्रममा पसलहरुमा मुल्यसुची र बोर्ड नराखेको पाइएकोछ भने पसलको नविकरण पनि गरेको नदेखिएको समितिको भनाई छ । मूल्यवृद्धि, मिसावट, कालोवजारी रोक्न नियमितरुपमा बजार अनुगमन गरिने उपमेयर गौतमले बताइन् । आज सात वटा किराना पसल र तीन वटा मीठाई पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।