यसपालीको डोल्पा जिल्लाको से–फोक्सुन्डो यात्रा थाती राख्दै, आफ्नै नजिकैको जिल्ला, मेरो जन्मथलो भोजपुरस्थित टेम्के मैयुङ गाउँपालिकाको टेम्के डाँडा र टेम्केको फेदमै अवस्थित सुन्दर हरियाली चखेवा डाँडा जाने निधो भयो । म र मेरो यात्राको सहयात्री फोटोग्राफर भाइ विशाल थेबे, धरानबाट मोटर साइकलको लामो यात्रामा धरानबाट भोजपुर प्रस्थान गर्यौं ।

कार्तिक १४ गते शुक्रबार बिहानको ५ बजे शुरु भयो हाम्रो यात्रा । बिहानको खाजा भेडेटारमा लियौं । त्यसपछि फेरि हाम्रो यात्रा निरन्तर अघि बढ्यो । धन्कुटाको हिले हुदै पाख्रिबासको सुन्दर पार्कमा पुगेपछि एकघण्टा अलमल भभो । त्यहाँको सुन्दर सानो पोखरी, भगवान शिवको सुन्दर मुर्ति, गौतम बुद्धको मुर्ति र पार्कलाई क्यामेरामा कैद गरेपछि फेरि यात्रा अघि बढ्यो ।

अबको यात्रा अलिक गाह्रो थियो, अफरोड बाटो । दिन भने खुलेको थियो । सफा मौसम, निलो आकाश थियो । मकालु हिमाल प्रष्टै देखिने । पाख्रीबास बजार मुनि झन्डै ४,५ किलोमिटर तल डिकुरे गाउँको डाँडाको टुप्पोमा अवस्थित डिकुरे गुम्बाको दर्शन गर्न पनि छोडेनौं । गुम्बाको सुन्दर फोटो कैद गर्या, र फेरि धुलोसरिको कच्चा बाटो हुँदै हाम्रो यात्रा ओरालो लाग्यो ।2

लगभग १ घन्टाको कच्चा ओरालो, धुलम्म यात्रा पछि लेगुवाघाट पुग्न सफल भयौं । बिहानको खाना लेगुवामा खायौं । त्यहाँबाट हाम्रो यात्रा अरुण नदी पारी भोजपुर जिल्लाको सुरु हुन्छ । अरुण पारीदेखि पक्का सडक एक्दमै राम्रो बाटोरहेछ । हाम्रो मोटर साइकलको यात्रा धेरै सहज भयो । फोटोग्राफर विशाल थेबे हाम्रो गाउँघरको तस्बिर क्लिक गरिरहे, हाम्रो यात्रा पनि अघि बढिरह्यो । हाम्रो गन्तब्य पौवा दुङमा गाउँ पालिकाको च्याङग्रे बजारसम्म थियो । च्याङग्रे बजारमा एउटा सुन्दर मनमोहक च्याङग्रे पोखरी छ । त्यही पहिलो दिनको हामी बास बस्न जादैथियौ, मेरो फुपुकोको घरमा । च्याङ्ग्रेबाट पनि मौसम खुलेकोले मकालु हिमाल झलल देखियो । हामी दुई भाईलाई फोटो खिच्न भ्याई नभ्याई ।

भोलीपल्टको यात्रा हाम्रो बिहानको ९ बजे सुरु हुन्छ । अबको यात्रा च्याङ्ग्रे पोखरीबाट भोजपुर बजार हुँदै, चखेवा भन्जयाङसम्म । च्याङ्रग्रे बजारबाट झन्डै ६५ किलोमिटरको दुरीमा रहेछ चखेवा भन्जयाङ । भोजपुर बजारबाट ३८ कि.मि.मा रहेछ चेखेवा भन्जयाङ । लगभग ५ घन्टाको यात्रा पछि दिनको १ ः ३० बजे चखेवा भञ्ज्याङ् सकुसल रमाइलो यात्राका साथ पुग्न सफल भयौं । धरानबाट लगभग २०३ कि.मि.को यात्रा धरानबाट चखेवासम्म । चखेवाको नमुना होटलमा झोला तुम्बी राखेर, होटल माथीको सुन्दर हरियाली चखेवा डाँडाको यात्रा सुरु हुन्छ । एक्दमै मनमोहक डाँडा । जति बसे नि बसौं बसौं लागिरहने । एउटा सानो पोखरी थियो, हेर्दा गुफा पोखरीको झल्को दिने । यति सुन्दर ठाउँ हामीले धरानबाट नजिकै भएर पनि पुग्न नसकेको रहेछौ भने अनुभुति भैराखेको थियो, हामी दुवैलाई ।

3

चखेवाको छेउ कै अग्लो डाँडा भोजपुर र खोटाङको सिमानामा अविस्थत । नेपाल सरकारले उत्कृष्ट १०० वटा घुम्नै पर्ने गन्तब्यमा राखेको टेम्के डाँडा । हाम्रो यात्राको प्रमुख गन्तव्य । चखेवा डाँडाबाट स्पष्ट देखि राखेको छौ । भोली बिहान त्यही उकालो चढ्ने, बिहानको झुल्के घाम सँगै हिमालको दर्शन गर्दै । बेलुकाको ६ बजेसम्म चेखेवा डाँडा बरालिदै, फोटो लिदै समय बितेको थाहै भएन । बेलुकाको खाना नमुना होटलमा खायौं । बेडमा एक जनाको मात्रा १०० रुपैया । सादा खानाको मात्रा १५० रुपैया । यति खर्च गर्न जो कोहीलाई गाह्रो पनि छैन । बिहानको यात्रा उकालो चड्नु पर्ने । समयमै सुत्नु पर्ने, होटलमा वाइफाइको पनि सुबिधा रहेछ ।

बिहानको ४ बजे हाम्रो यात्रा सुरु हुन्छ, हातमा टर्च लाइट लिएर । चखेवाबाट हुन त मोटरसाइकलमा पनि पुगिने रहेछ । तर हामी हिडेर जाने निधो भयो । झन्डै २ घन्टाको उकालो हिडे पछि टेम्केको चुचुरा पुग्ना सफल भयौं । एकदमै चिसो वातावरण टेम्केको चुचुरामा । बिहानको झुल्केको घाम सँगै ६ वटा हिमाल स्पष्ट देखिने रहेछ । हाम्रो आँखै अघि कञ्चनजंघा, मकालु , सगरमाथा , चोयु, लोहस्से, लोहस्सेसार हिमाल थियो । आहा, कस्तो अनुपम दृष्य । कति मनमोहक । हेरिरहुँ, त्यही बसिरहँु लाग्ने समय ।

6

टेम्केमा भ्यु टावर पनि चाडै बन्दैछ भनेर स्थानीयले सुनाए । भ्यु टावरको लागि टेम्केको चुचुरामा ठूलो खाल्डा पनि खनिसकेको देख्यौं । बन्ने चाहि कैले हो, कसैलाई थाहा छैन । आशा छ अर्को पटक आउदा भ्यु टावर र चखेवा भन्ज्याङदेखि टेम्केसम्मको ८ कि.मि.कच्ची बाटो सडक भइसकेको हुनेछ । टेम्केको चुचुरामा एउटा पुरानो मन्दिर पनि रहेछ ।

टेम्केको चुचुरामा झन्डै ४ घन्टा बितेको पत्तै भएन । फोटो लिन भ्याइ न भ्याइ भयो । त्यहाँबाट देखिने सुन्दर हिमश्रृंखलाहरु, सुन्दर पहाड र प्रकृतिले ४ घण्टा पनि कति छिटो बितेछ भन्ने लाग्यो । हामी फेरि चखेवा झरेर आफ्नो गन्तब्य तिर प्रस्थान गर्नुथियो, धरान फर्कनु थियो ।

जे होस्, हाम्रो पुर्वमा यति सुन्दर ठाउँ रहेछ । त्यहाँ पुगेर मात्रा थाहा भयो । तपाईहरु पनि एकपल्ट चखेवा भञ्ज्याङ् र टेम्के डाँडा भोजपुर आवश्य घुम्नु होला । हाम्रै गाउँ ठाउँ, जिल्लामा चखेवा, टेम्के डाँडा जस्ता कयौं सुन्दर गन्तव्यहरु छन्, ती ठाउँहरुमा हामी पुग्न, घुम्न सकेका छैनौं । आफ्नो देश दर्शन नगरि विदेश घुम्न जान्छौं । विदेशको वखान गछौं । तर, म भन्छुँ, पहिले आफ्नो देश घुमौं । आफ्नो माटो चिनौं, प्रकृति र सँस्कृति बुझौं, त्यसपछि मात्रा बिदेश घुमौ । यही सोच लिएर एकपल्ट आवश्यक यो ठाउँ पुग्नु होला । घुम्ने उतम मौसम दशैं र तिहारको बीचको समय रहेछ । यति बेला मौसम खुला हुन्छ, र धितमरुञ्जेल तस्बिर खिच्ने, लोभलाग्दो दृष्य, प्रकृति हेर्न सकिन्छ । धन्यवाद ।

13 4 5 11 10 12 19 17 18 15 14 20 16