धरान: बार्षिक शुल्क र अनलाइन कक्षाको शुल्क ५० प्रतिशत निर्धारण गर्नुपर्नेलगायतको मागप्रति सुनुवाई नगरेको भन्दै धरानका अभिभावकहरुले उपमहानगरपालिकामा धर्ना दिने भएका छन् ।

विभिन्न ६ बुँदे माग राखेर मंसिर १४ गतेसम्म पुरा गर्न धरान अभिभावक विद्यार्थी परिवारले अल्टिमेटम दिदै मंसिर ८ गते मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका थिए । उक्त समयमा पनि उपमहानगरपालिकाले मागको सुनुवाई नगरेको भन्दै अभिभावकहरुले धर्नाको तयारी गरेका हुन् । आज(सोमबार) नै उपमहानगरपालिकामा धर्ना दिने कार्यक्रम राखे पनि शोक विदा दिइएकोले स्थगित गरिएको थियो । अभिभावकहरुले आज स्थागित गरिएको धर्नाको कार्यक्रम भोली मंगलबार बिहान गर्ने घोषणा गरेका छन् ।

अभिभावक विद्यार्थी परिवारले बिहान साढे १० बजे उपमहानगरपालिका कार्यालय अघि धर्ना दिने जनाएको छ । ‘हामीले १४ गतेसम्म अल्टिमेटम दिएर माग पत्र बुझाएका थियौं, तर आजको मितिसम्म उपमहानगरबाट सम्पर्क कसैले गरेनन्, छलफल गर्न वास्ता गरेनन्,’अभिभावक विद्यार्थी परिवारका सदस्य विकास भाटीले भने,‘भोली धर्ना कार्यक्रम छ ।’

अभिभावकहरुले मंसिर १४ गतेभित्र अनलाईन कक्षाको यस शैक्षिक सत्रको लागि बार्षिक शुल्क ५० प्रतिशत र अनलाईन कक्षा सञ्चालन गरेदेखि मासिक शुल्क ५० प्रतिशत निर्धारण गर्न माग गरेका थिए । यस्तै, २०७६ चैत महिना यताको मासिक तथा यातायात लगायत लिएको सबै शुल्क फिर्ता गराउन पनि स्थानीय सरकारसँग माग गरेका छन् । स्थानीय सरकारको शिक्षा महाशाखामार्फत अनलाईन कक्षाको प्रभावकारिता अनुगमन गर्न र स्थानीय सरकारले शुल्क निर्धारण नगरि शुल्क उठाउने विद्यालयलाई कारबाही गर्न पनि अभिभावकहरुको माग रहेको छ ।

स्थानीय सरकारले शुल्क निर्धारण नगरी निजी विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेको भन्दै शुल्क असुल गर्न थालेपछि अभिभावकहरु संगठित भएका थिए । कोरोना महामारीले सबै क्षेत्रमा असर गरेकोले सामान्य अवस्थामा जस्तो शुल्क असुल गर्न नहुने उनीहरुको माग छ । अभिभावकहरुलाई पनि राहत हुने गरि शुल्क निर्धारण गर्न अभिभावकहरुले स्थानीय सरकारसँग आहग्र गरिरहे पनि धरान उपमहानगरपालिकाले भने निर्धारण गर्न सकेको छैन । अभिभावकहरुले यसअघि पनि उपमहागनरपालिकामा दबाब स्वरुप धर्ना दिएको थियो ।