धरान: भोली आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका धरानका निजी तथा संस्थागत विद्यालयहरुले ४ दिनपछि मात्र स्कुल खोल्ने भएका छन् ।

आइतबारदेखि स्कुल सञ्चालन गर्ने तयारी गरेपछि आज धरानका मेयर तिलक राईले निजी तथा संस्थागत विद्यालयहरुसँग आकस्मिक छलफल गरेका थिए । दिउँसो करिब ४ बजे भएको छलफलमा मेयर राईले ३ देखि ४ दिनसम्म समय दिन आग्रह गर्दै त्यस बेलासम्म उपमहागनरपालिकाले ठोस निष्कर्षमा पुग्ने र निर्णय गर्ने प्रतिवद्धता जनाए पछि निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरु पनि सकरात्मक भएका हुन् । ‘मेयर साबले हामीसँगको छलफलमा मलाई ३ देखि ४ दिन समय दिनुस्, त्यसबेलासम्म सरोकारवालाहरुसँग छलफल गरेर निष्कर्षमा पुग्छौं भन्नु भयो,’एसिसि धरानका अध्यक्ष राजेन्द्र गुरुङले भने,‘उहाँको आग्रहप्रति हामी सकरात्मक भयौं, र भोली आइतबारदेखि स्कुल नलगाउने, निर्णय पर्खने भयौं ।’

धरानका निजी तथा संस्थागत विद्यालयहरुले सरकारको प्रोटोकल पालना गर्दै आइतबारदेखि स्कुलहरु सञ्चालन गर्ने निर्णय गरेका थिए । सम्पुर्ण तयारी भइसके पनि अन्तिम समयमा मेयरको आग्रहमा स्कुल लगाउने निर्णयलाई ४ दिनसम्म स्थगित गरिएको प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बुले बताए । उनले भने,‘अधिकतम ४ दिन भित्र म सबैसँग छलफल गरेर निष्कर्षमा पुग्छु । मिलेर नै निर्णय गरेर जाउँ, समय दिनुस् भन्नु भएकोले हामी सकरात्मक भएका हौं ।’