धरान: धरान उपमहानगरपालिकाले भोली बिहिबारदेखि न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

निजी विद्यालय सञ्चालक, अभिभावकहरुसँग छलफल गरेको उपमहागनरपालिकाले बिहिबारदेखि मापदण्ड तथा स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय निजी र सरकारी दुवै विद्यालयको लागि हो । ‘सरोकारवालाहरुसँग छलफल गर्यौं, र सुझाव लिएर स्कुलहरु सञ्चालन गर्ने निर्णय गरिएको छ,’मेयर तिलक राईले भने,‘न्युनतम मापदण्ड निर्माण गरेर, स्वास्थ्य प्रोटोकल लागु गर्ने गरि निर्णय गरेका छौं ।’

यसअघि मापदण्ड पुरा गरेका विद्यालयहरुले वडा कार्यालय, अभिभावकहरुसँग समन्वय गर्दै स्कुल शुरु गर्नेछन् भने तयारी भएका विद्यालयहरुले पनि मापदण्ड पुरा गरेर विद्यालय शुरु गर्नेछन् । अधिकांश निजी विद्यालयहरुले यसअघि नै विद्यालय सञ्चालन गर्ने तयारी गरेका थिए । निजी विद्यालयहरुले मावि तहको ८,९ र १० कक्षा शुरु गर्ने बताएका छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ शुरु गर्नेछन् भने कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् ।

प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बुले पनि बिहिबारदेखि निजी विद्यालयहरु सञ्चालनमा आउने बताए । औपचारिक जानकारी नआएपनि उपहानगरले निर्णय गरिसकेको उनले बताए । ‘हामीले सिनियर कक्षाबाट शुरु गर्ने भनेका छौं, भोलीदेखि स्कुल लाग्छ,’उनले भने ।

यस्तो छ मापदण्ड:
विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना मात्र विद्यार्थी राख्न पाइनेछ भने एक कोठामा बढीमा २५ जना मात्र विद्यार्थी बस्ने व्यवस्था हुनुपर्नेछ । पठनपाठन गर्नुपुर्व दैनिकरुपमा कक्षा कोठा सेनिटाइज गर्नुपर्नेछ भने विद्यालयको प्रवेशद्धारमा दैनिकरुपमा कर्मचारी, शिक्षक, विद्यार्थीको तापक्रम मापन गर्नुपर्नेछ । विद्यालयमा अनिवार्यरुपमा सेनिटाइज वा साबुन पानीले हात धुने व्यवस्था पनि गर्नुपर्नेछ । यस्तै, खाजा समयलाई सकेसम्म छोट्याउनुपर्नेछ भने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्नेछ ।
school 1school1