धरान: निजी विद्यालय संचालन र अनलाईन कक्षाको शुल्क निर्धारणबारे धरान उपमहानगरपालिकलो गरेको निर्णयप्रति धरान अभिभावक विद्यार्थी परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभिभावक विद्यार्थी परिवारले ध्यानाकर्षण पत्र जारी गर्दै बुधबार उपमहानगरसँग भौतिक कक्षाहरु संचालनको विषयमा छलफल भए पनि अभिभावकहरुको तर्फबाट कुनै सहमति नगरिएको पनि जनाएको छ । उनीहरुले त्रिपक्षिय निर्णय नहुन्जेलन अभिभावक र सरोकारवालाहरु भ्रममा नपर्न तथा शुल्क नबुझाउन पनि अपिल गरेका छन् ।

धरान कोरोना संक्रमणको उच्च जोखिम अवस्था मै रहेको सरकारी तथ्याङ्कले नै देखाएको भन्दै उनीहरु यो अवस्थामा जोखिम मोलेर आफ्ना बालबच्चाहरु विद्यालय पठाउन नसक्ने पनि उल्लेख गरेका छन् । 'निजी विद्यालय र उपमहानगरले द्विपक्षिय निर्णय अभिभावक माथि लाद्न खोजेको हो ? विद्यालय संचालन भएर बालबच्चाहरु संक्रमित भए त्यसको जिम्मेवारी कस्ले लिने हो ? स्वास्थ्योपचार खर्च कसले ब्यहोर्ने हो ?, 'खण्डन पत्रमा भनिएको छ,'बालबच्चा संक्रमित भई मृत्यु सम्म भएमा त्यसको क्षतिपुर्ति हुन सक्छ र ?'

अभिभावकहरुले निजी विद्यालय संचालकहरुले ताला लगाउने घुर्कि देखाएर द्विपक्षिय निर्णय गराई जबरजस्ती विद्यालय संचालन गरेको र अभिभावकहरुबाट बढि भन्दा बढि शुल्क असुल गर्ने नियत देखिएको आरोप लगाएका छन् । उनीहरुले बालबच्चाहरु संक्रमित भई केहि भएमा स्थानिय सरकार र निजी विद्यालय संचालकहरु सम्पुर्णरुपमा जिम्मेवार हुने पनि ठहर गरेको जनाएका छन् । यो निर्णयलाई अदुरदर्शी भन्दै अभिभावकहरुले सहयोग गर्न नसक्ने पनि प्रष्ट पारेका छन् । उपमहानगरपालिकाले बिहिबारदेखि मापदण्ड पुरा गरेर स्कुल सञ्चालन गर्ने निर्णय गरेपछि निजी विद्यालयहरु सञ्चालन हुन थालिसकेको छ भने समुदायिक विद्यालयहरु पनि आइतबारदेखि सञ्चालन गर्ने तयारीमा छन् । 

यस्तै, मासिक शुल्कको बिषयमा पनि विद्यालय संचालकलाई आफु खुशी शुल्क उठाउन सहमति दिएको भन्दै अभिभावकहरुले .स्थानीय सरकार शैक्षिक माफियाहरुको घेराबन्दिबाट बाहिर निस्कन नसकेको आरोप लगाएका छन् । उपमहानगरको निर्णयमा शुल्कबारे अभिभावक र विद्यालय सञ्चालकबीच सहमति वा समझदारी भएमा सोही वमोजिम हुने र सहमति हुन नसके उपमहानगरले तोके वमोजिम हुने भन्ने उल्लेख छ । यो निर्णयलाई टेकेर विद्यालय सञ्चालकहरुले अभिभावकहरु यसअघि नै ५० प्रतिशत शुल्क तिर्न तयार भइसकेको भन्दै सोही अनुसार शुल्क असुल गर्ने लागेकोले पनि बताएका छन् ।