धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक कल्याण समाजले स्नातक तहको एमबिबिएस सिट संख्या सय जनामा सिमित गर्न माग गरेको छ ।

चिकित्सा शिक्षा आयोगलाई पत्राचार गर्दै प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले यस्तो माग गरेको हो । समाजले यो पत्र चिकित्सा शिक्षा ऐन तथा निमायवली संशोधन गर्न गठित कार्यदलका संयोजक प्रा.डा.जगदीश अग्रवाल, प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी ओली शर्मा, सहकुलपति एवं स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई पनि बोधार्थ पठाएका छन् ।

स्रोतका अनुसार आर्थिकरुपमा संकटग्रस्त बनेको वीपीका पदाधिकारीहरु भने कम्तीमा १५० जनाको कोटा बनाउन लविङ गरिरहेका छन् । प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोतमध्ये विद्यार्थी भर्ना हो । पदाधिकारीहरु कोटा बढाउन लविङ गरिरहदा शिक्षक कल्याण समाजले भने कोटा सय जनामा सिमित गर्न माग गर्दै आयोगमा पत्राचार गरेको हो । समाजले कुनै पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं मेडिकल कलेजहरुलाई एक सय भन्दा बढी स्नातक तह (एमबिबिएस)का विद्यार्थीहरु लिन उपयुक्त नभएको जनाएको हो । माथेमा आयोगको मुल मर्म अनुरुप, नेपाल सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप पनि कोटा सय भन्दा बढी हुन नहुने जनाएको छ ।

विगतमा एक सय भन्दा बढी विद्यार्थी संख्या लिदा उनीहरुको गुणस्तरीयतामा ह्रास देखिएको भन्दै समाजले कति जना जनशक्ति उत्पादन भए भन्दा पनि कस्ता जनशक्ति उत्पादन भए भन्ने कुरा महत्वपुर्ण हुने जनाएको छ । समाजका अध्यक्ष डा.विष्णु पोखरेलले मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको आम्दानीको स्रोत बनाउनुभन्दा पनि अब्बल जनशक्ति उत्पादनमा ध्यान केन्द्रीत हुनुपर्ने बताए । उनले वीपी प्रतिष्ठानमा फ्याकल्टीहरु भएपनि यहाँको पुर्वाधारहरु स्थापनाकालकै मात्र भएकोले धेरै संख्यामा कोटा बढाउन नहुने तर्क गरे ।

‘यहाँको पुर्वाधार ३० जना पढाउने मात्र हो, अहिलेसम्म बढेको भनेको एकेडेमिक ब्लक हो तर त्यो पनि लथालिङ्ग अवस्थामा छ,’अध्यक्ष डा.पोखरेलले भने,‘विरामीलाई छुनु अघि स्किल ल्याबमा डमीमा अभ्यास गर्नुपर्ने हुन्छ, त्यो छैन । यहाँ अहिले भएकैहरुले होस्टेल पाइराखेका छैनन्, धारामा पानी आउदैन, भवनमा पानी चुहिन्छ ।’ एउटा विरामी बराबर ३ जना विद्यार्थी भएमा मात्र राम्रो सिकाउन सकिने भएपनि अहिले प्रतिष्ठानमा एक विरामी बराबर ३ भन्दा बढीले हेर्नुपरिरहेको भन्दै यो सिकाई प्रभावकारी नहुने डा.पोखरेलको भनाई छ । ‘धेरै जनशक्ति उत्पादन गरेर मात्र हुदैन । नेपालमा हरेक बर्ष उत्पादन भइरहेका जनशक्तिहरु कहाँ, कसरी व्यवस्थापन भइरहेको छ ? त्यसतर्फपनि ध्यान दिनुपर्छ । प्राविधिक क्षेत्र आर्ट्स, कमर्श जस्तो ठानेर हुदैन,’उनले भने ।faculty-letter