धरान: भोजपुर हतुवागढी गाउँपालिका १ घोडेटारका राजनीतिकर्मी मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्र समय लाग्छ । चतराबाट सप्तकोशीमा पानी जहाज अर्थात जेटबोट चल्न थालेपछि उनलाई धरान आउन जान पानी पधेरो जस्तै भएको छ ।

कुनै समय थियो, धरानबाट घोडेटार पुग्न हिडेर जानुपथ्र्यो । त्यसरी घोडेटार पुग्न २ दिनसम्म पनि लाग्थ्यो । अचेल बढीमा २ घण्टाभित्रै घोडेटार पुग्न सकिने भएको छ । ‘पहिला डेढ, दुई दिनमा हिडेर घोडेटार पुगिन्थ्यो । अचेल डेढ, दुई घण्टामा नै पुगिन्छ,’राई भन्छन्,‘कोशीमा आधुनिक जेटबोट चलेपछि धेरै नै सुविधा भएको छ ।’

सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा निर्मित कोशी पुल आसपासबाट पानी जहाज, जेटबोट चल्न थालेपछि भोजपुरका दक्षिणी भेगका बासिन्दालाई धेरै सुविधा पुगेको छ । भारी बोकेर घण्टौं यात्रा गर्नुपर्ने बाध्यता छैन । काम बिषेशले तराई झर्नुपर्दा उनीहरु जेटबोटकै सहारा लिन्छन् । सिकिस्त विरामीहरु लागि वरदान सावित भएको छ । चतराबाट अहिले ३ वटा कम्पनीको ६ वटा पानी जहाज तथा जेटबोट सञ्चालन गरिरहेको छ ।

चतराबाट बराहक्षेत्र, त्रिवेणी हुँदै एकतर्फ भोजपुरकै चुहारासम्म चल्छ भने अर्कोतर्फ सिम्ले, गाडी स्टेण्डसम्म पुग्छ । भोजपुरको हतुवागढी, रामप्रसाद गाउँपालिका मात्र होइन, उदयपुरको मैनामनी र धनकुटाका बासिन्दाहरुलाई पनि सुविधा भएको छ । हाल बराहक्षेत्र म्यारिन एण्ड रिसोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि र नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले बोट सञ्चालन गरिरहेको छ ।

जेटबोटमा लगानी कति ?

koshi-jet-boat2

विगत अढाई बर्षदेखि सञ्चालन भइरहेको बराहक्षेत्र म्यारिनका सञ्चालक नविन पौडेलका अनुसार कम्पनीको ४ वटा जहाज छन् । अन्य जेटबोटको जस्तो नभै पानी जहाजकै सिस्टम ‘डाइरेक्ट ड्राइभ’ बाट सञ्चालन भएकोले उनी पानी जहाज भन्छन् । उनको लगानी १० करोड माथि भइसकेको छ ।
उनको ४ वटा मध्ये एउटा ८५ जना क्षमताको ठुलो पानी जहाज छ । त्यहाँ एयर कन्डिसन र एट्याच ट्वाइलेट पनि छ । यो ट्रिपल इञ्जिन भएको जहाज हो । अर्को मिडियम जहाज डलब इञ्जिनि भएको छ , र यसको क्षमता २५ जना यात्रु बोक्ने रहेको छ । अन्य २ वटा जहाज भने १०, १० जना यात्रु क्षमता भएको सिंगल इञ्जिन पानी जहाज हो । अन्य जेट बोटले भन्दा उनको यो जहाजले छिटो सुविधा पनि दिन्छ ।

उनका यी जहाजको बडी चीनको संघाईमा बनेका हुन् । तर इञ्जिनि र प्रविधि भने जापानको हो । निर्माण कम्पनीको ब्राञ्च चीनको सांघाईमा भएको र नेपाल ल्याउन सहज हुने भएकोले चीनमा बडी तयार भएको पौडेल बताउँछन् । २०७३ सालदेखि बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालि सञ्चालनमा आएको हो । कम्पनीको एउटा मात्र जेटबोट छ । सञ्चालक विमलमान श्रेष्ठका अनुसार ३ करोड बढी लगानी भइसकेको छ । कोशीमा जेटबोटमा विभिन्न कम्पनीको समग्रमा १५ करोड बढी लागनी भएको उनी बताउँछन् । तीस जना क्षमता भएको उनको जेटबोट भारतमा एसम्बल भएपनि जेट फिनल्याण्डमा बनेको हो भने इञ्जिन अष्ट्रियामा बनेको हो ।

हाल सञ्चालनमा रहेको अर्को जेटबोट नेपाल रिभर ट्रान्सपोर्ट कम्पनीको छ । यसका सञ्चालक अनिष थापा कति लगानी भयो भनेर खुलाउन चाहदैनन् । यो कम्पनीले भरतपुर नगरपालिकासँग सम्झौता गरेर ल्याएर जेटबोट कोशीमा ल्याएर सञ्चालन गरेको हो ।

विरामीलाई एम्बुलेन्सको सुविधा

जेटबोटले बिषेश गरि भोजपुरको दक्षिणी भेगका बासिन्दाको दैनिकी त फेरिएको छ नै, विरामीहरुको लागि वाटर एम्बुलेन्स नै बनेको छ । सिकिस्त अवस्थामा विरामीलाई चडो अस्पताल पुर्याउनु पर्दा जेटबोट भरपर्दो सहारा बनेको छ । बिशेष गरि गर्भवती महिला, कुनै घटना एवं दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई आकस्मिक उपचारको लागि अस्पताल पुर्याउनुपर्दा जेटबोट नै एकमात्र सहारा भएको छ । विरामीलाई पहिला अस्पतालमा पुर्याउन घण्टौं समय लाग्थ्यो, र कतिको बाटोमा नै ज्यान जान्थ्यो । अचेल तत्काल उद्दार गरेर चतरा हुँदै धरान, विराटनगरलगायतका सुविधा सम्पन्न अस्पतालमा समयमा नै पुर्याउन सकिन्छ, र धेरै विरामीको ज्यान बचेको छ ।

पर्यटन विकासमा योगदानkoshi-bridge9

जेटबोट एवं पानी जहाजमा करोडौं लगानी भएर सञ्चालनमा आएको छ । यसले पहाडी क्षेत्रका बासिन्दालाई सुविधा मात्र पुगेको छैन, पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुगेको छ । जेट बोट सञ्चालन पछि बराहक्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरुको गन्तव्य जेट बोटको कारणले पनि चतरा, बराहक्षेत्र हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानीजहाज चलाउने उद्घोष गरेका थिए । त्यही चर्चाको बीचमा कोशीमा पानी जहाज सञ्चालन भएको चर्चाले आन्तरिक पर्यटकहरुको ध्यान खिच्यो ।

लकडाउन अघि भारतको विहारबाट पनि थुप्रै पर्यटकहरु घुम्न आउथे । प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर पनि जेटबोटबाट पुग्न सकिने भएकोले आन्तरिक पर्यटकहरु आकर्षित भएका हुन् । सुनसरी र उदयपुर जोड्ने चतरामा नवनिर्मित कोशी पुलको आसपासबाट जेटबोट तथा पानी जहाजहरु सञ्चालन हुन्छन् । अचेल त्यहाँ पर्यटकहरुको ताती लाग्छ । पर्यटकहरु कोशी पुलबाट जेटबोट चलेको दृष्य हेर्न, फोटो खिच्न र जेडबोटकै अनुभव लिन आइपुग्छन् ।

बराहक्षेत्रका सञ्चारकर्मी नवराज विष्ट पानी जहाज भन्दै चढेर अनुभव लिन आउनेहरुको कारण पर्यटकीय गतिविधि ह्वात्तै बढेको र पर्यटकीय क्षेत्रकोरुपमा कोशी पुल क्षेत्र विकास हुदै गएको बताउँछन् । ‘भोजपुरको दक्षिणी भेगका मानिसहरुको दैनिकी नै फेरियो, आफ्नो कृषि उत्पादनहरु एकैछिनमा चतरा हुदै धरान, इटहरी पुर्याउन पनि सकियो,’विष्ट भन्छन्,‘आन्तरिक पर्यटकहरु पानी जहाज भन्दै चढेर घुम्न, फोटो खिच्न आउन थाले, यो क्षेत्र पर्यटकीय गन्तव्यकोरुपमा विकास भयो ।’

लकडाउन यता भारतीय पर्यटकहरु ठप्प छन् । कोरोना महामारीकै कारण यहाँका जेडबोटहरु पनि लामो समय थन्किएर बसे । मानिसहरुको आवतजावत सुनसान बन्यो । गएको दशैं अघिबाट भने पुनः जेटबोट, पानी जहाजहरु चल्न थालेका छन् । विदाको दिन आन्तरिक पर्यटकहरु आउछन् । चाडपर्वको बेला केही भिड हुने गरेको छ ।

समस्या पनि उस्तै

koshi-bridge8

कोशीमा जेटबोट सञ्चालकहरु शुरुमा जति उत्साहित थिए, अहिले त्यति छैनन् । यसको कारण हो, जेटबोट बिग्रिएमा मर्मतमा लाग्ने अत्यधिक खर्च । कोशी नदी संसारकै दोस्रो धेरै वालुवा बोक्ने नदीमा गनिन्छ । यसले गर्दा जेटबोटको इञ्जिन बिग्रिरहन्छ । कोशीको ठुलाठुला ढुंगा र र्यापिडले पनि इञ्जिनलाई असर पुर्याउछ ।

एक पटक इञ्जिनि बिग्रियो भने कयौं दिन जेटबोट थन्किन्छ । सामानहरु नै महंगो मुल्यमा विदेशबाट झिकाउनुपर्ने हुन्छ । ‘सामान पनि यहाँ हुदैन, प्राविधिक पनि विदेशबाटै आउनुपर्छ,’बराहक्षेत्र जलयातायातका विमलमान श्रेष्ठ भन्छन्,‘त्यो बेला जेडबोट धेरै दिन थन्किएर बस्छ । मर्मतमा खर्च अत्यधिक हुन्छ ।’ 

सर्वासाधारण यात्रुका पनि गुनासो उस्तै छ । घुम्न आउने पर्यटक र पहाडी क्षेत्रका सर्वसाधारण यात्रुलाई एउटै भाडादर तोकिएको छ । यो सही नभएको उनीहरु बताउँछन् । भोजपुरसम्म यात्रा गर्दा एकतर्फी ५ सय तिर्नुपर्छ । घुम्न आउनेहरुलाई ठिकै भएपनि गाउँका मानिसहरुको लागि उचित भाडादर नभएको बराहक्षेत्रका सञ्चारकर्मी विष्ट बताउँछन् । उनी भन्छ्न, 'कोही थोरे कृषि उपज चतरा, धरान ल्याउनेहरु हुन्छन्, उनीहरुलाई आउदा जादा नै १ हजार तिर्नुपर्छ । त्यसैले भाडादरमा समायोजन हुनुपर्छ । '