धरानः नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पुष ४ गते (शनिबार) धरानमा बृहत रक्तदान कार्यक्रमसहित खेलाडी, प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने भएको छ ।

आज (विहीबार) धरान १२ अमान बजारस्थित नेपाली कांग्रेस, प्रदेश नं. १ ‘क’ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो । कांग्रेस नेता तथा विभागका सदस्य किसोर राईले बृहत रक्तदान, धरान क्षेत्रबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक र रजत पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने जानकारी दिए । अन्य क्षेत्रमा योगदान पुर्याउने संघ, संस्था तथा व्यक्तिहरुलाई पनि नगद तथा उपहार सहित सम्मान गर्ने पनि उनले बताए ।

विभागले कोभिड १९ का कारण सुनसरी लगायत देशभर नै रगतको अभाव भएकोले आम जनताको स्वास्थ्यमा सहयोग पुग्ने गरि बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । नेता राईले पत्रकार सम्मेलनमार्फत रक्तदान कार्यक्रममा सहभागी हुन पनि आह्वान गरे । गएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक र रजत पदक प्राप्त गर्ने धरानका खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिने पनि राईले जानकारी दिए ।

सोही कार्यक्रममा वीपी प्रतिष्ठानका एक जना नर्स, धरानका सडक सरसफाई गर्ने एक जना (कुचिकार), समाजसेवी, होप धरान, जेसिज, रेडक्रस लगायत संघ, संस्था तथा व्यक्तिलाई नगद तथा उपहार सहित सम्मान गर्न लागिएको उनले बताए । नेपाली कांग्रेस पार्टीको संरक्षण, केन्द्रीय खेलकुद विभागको आयोजना, खेलकुद क्षेत्र समन्वय समितिको संयोजन र भातृ तथा शुभेच्छुक संस्थाहरुको सहयोगमा धरान १२ स्थित अमान बजारमा शनिबार बृहत रक्तदान तथा सम्मान कार्यक्रम हुने जनाएको छ ।