धरान: धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको धरान ११ स्वास्तिका चोकस्थित जग्गालाई हडप्न विगत २ बर्षदेखि निरन्तर प्रयास भइरहेको छ ।

झण्डै डेढ बर्षअघि यो बिषय सार्वजनिक भएपछि धरानका राजनीतिक दल, विद्यार्थीहरुले आन्दोलन गरेका थिए । भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा मुद्दा चलिरहेको यो बिषय केही समय मत्थर भएपनि भुमाफियाहरुले भने क्याम्पसको जग्गा हत्याउन निरन्तर चलखेल गरिरहेको पाइएको छ । यो मुद्दाको बिषयमा भुमि सुधारले जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गर्न धरान उपमहानगरपालिकालाई पत्राचार गरेको थियो । सोही अनुसार क्याम्पसको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन मुचुल्काको सक्कल प्रति नै हराएको पाइएको छ ।

क्याम्पसको जग्गाको स्रेस्तामा मोही भनि उल्लेख भएका डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले २०७५ सालमा मोही नामसारीको निवेदन दिएपछि विवाद शुरु भएको थियो । भुमिसुधारले जोतभोग कस्को छ भनेर सर्जमिन गर्न पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले २०७६ पुष १६ गते सर्जमिन मुचुल्का गरेको थियो भने १७ गते नै भुमि सुधार कार्यालयलाई सक्कल पठाएको जनाएको थियो । तर, भुमिसुधार तथा मालपोत कार्यालयको मुद्दाको मिसिलमा उक्त सर्जमिन मुचुल्काको सक्कल एक बर्ष बितिसक्दा पनि पुगेन ।mahendra

क्याम्पस प्रशासन र विद्यार्थीहरुले मुद्दाबारे ताकेता गर्दा मिसिलमा महत्वपुर्ण प्रमाणकोरुपमा रहेको सर्जमिन मुचुल्का नै नभएको थाह पाएका थिए । त्यसपछि, क्याम्पस प्रशासनले मुचुल्का भुमिसुधारमा नपुगेकोबारे छानबिन गर्न माग गर्दै उपमहानगरपालिकालाई पत्रचार गरेको छ भने मुचुल्काको प्रमाणित प्रतिलिपि मिसिलमा राख्ने व्यवस्था गर्न आग्रह गरेको छ । क्याम्पसको आग्रह अनुसार प्रमाणित प्रतिलिपी भुमिसुधारको मिसिलमा राख्न उपलब्ध भइसकेको पनि क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए ।

क्याम्पपस प्रमुख भण्डारीले सर्जमिन मुचुल्काको सक्कल प्रति नै हराउनु रहस्यमय भएको बताए । ‘नगरपालिकाले भुमि सुधारमा सर्जमिन मुचुल्का पठाएको देखिन्छ, तर त्यहाँ किन पुगेन ? बीचैमा लैजानेले गायब गर्यो कि ? अथवा भुमिसुधार कार्यालयले पो मिसिलमा समावेश गरेन कि ?,’उनले भने,‘ हाम्रो मुद्दाको महत्वपुर्ण हिस्सा हो । यो बिषयमा सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण होस्, र को बाट वदमासी भएको छ, छानबिन गरेर सजाय दिइनुपर्छ ।’

mahendra1

क्याम्पसले २०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट किनेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मुल्य अहिले करोडौं रुपैया पर्छ ।

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले क्याम्पसको पत्र आएपछि सर्जमिन मुचुल्काको प्रतिलिपि उपलब्ध गराएको जानकारी दिए । साथै, उनले मुचुल्काको सक्कल प्रति कहाँ गयो भनेर आवश्यक छानबिन भइरहेको पनि बताए । ‘फिल्डमा २०७६ पुष १६ गते सर्जमिन मुचुल्का भएपछि पुष १७ गते नै सक्कल नै पठाएका छौं, पत्रको चलान नं.३६३३ देखिन्छ,’उनले भने,‘अहिले क्याम्पसले फाइलमा देखिएन भनेर पत्र पठाएकोले हामीसँग भएको मुचुल्काको प्रतिलिपि पठाइदिएका छौं ।’ खतिवडाका अनुसार नगरपालिकाले कुरियरमार्फत पत्रहरु पठाउने गरेकोले भुमि सुधारमा कसलाई बुझायो भनेर लेखाको फाइलमा खोजी भइरहेको पनि छ । उनले भने,‘हाम्रो कमजोरी हो कि, कुरियारको हो कि वा भुमिसुधारको हो, कसको वदमासी हो भनेर खोजी गरिरहेका छौं ।’