धरान: कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उत्साह जगाउने गरि धरानको वडा नं २० मा करोडौं लगानीमा पार्क बनिरहेको छ ।

धरानको चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा नजिकै कालीमाटीमा सेक्ष एडभेञ्चर पार्क निर्माण भइरहेको हो । यो पार्क धरानका पर्यटन व्यवसायीद्धय वासुदेव वराल र एलिना मगरको लगानीमा निर्माण भइरहेको हो । सेक्ष धरानको पर्यटनमा अग्रणी पर्यटन सम्बद्ध ब्राण्ड बनेको छ । सेक्ष ट्राभलिङ, सेक्ष होटल, होटल सेक्ष इन पनि दुवैले सञ्चालन गरिरहेका छन् । अबको २ महिनाभित्र पहिलो चरणको काम सकिएर पार्क तयार भएर सञ्चालनमा आउने लगानीकर्ता वरालले जानकारी दिए ।

वरालका अनुसार पहिलो चरणमा ५ करोड लगानी हुनेछ । पहिलो चरणमा स्काई साइकल, मिनि जिपलाइन, ह्याङगिङ ब्रिज र रेष्टुरेष्ट निर्माण हुनेछ । ‘पहिलो चरणको काम ५ करोडमा सकिन्छ भन्ने अनुमान छ, २ महिनाभित्र पहिलो चरणको ४ आइटम निर्माण सकेर शुरु गछौं,’वरालले भने । त्यसको ४ महिनापछि नेपालकै पहिलो ग्लास ब्रिज(सिसाको पुल) बनाउने वरालले बताए । यो पुल २ सय फिट लामो र ६ फुट चौडा हुनेछ भने ५० फिट उचाई हुनेछ ।

sechha5

ग्लास ब्रिज बनेको एक बर्षपछि इन्डोर चिल्ड्रेन पार्क बन्नेछ भने त्यसको एक बर्षपछि १६ वटा कोठा भएको जंगल रिसोर्ट निर्माण हुनेछ । त्यहाँबाट धरानको सुन्दर दृष्य देखिने छ भने बिहानै आधा घण्टाको जंगल वाक गर्दै टोड्केस्थित भ्यु टावर पुगेर आउने रुट पनि हुनेछ । ‘दोस्रो चरणको काम सकिदासम्म १० करोड लगानी हुनेछ,’उनले भने । उनका अनुसार पार्कको लागि २ बिघा जग्गा खरिद गरिएको छ भने सामुदायिक वन र उपमहानगरपालिकाबाट थप डेढ बिघा जग्गा पनि उपलब्ध छ । डेढ बिघा जग्गामा कुनै पनि भौतिक संरचना निर्माण नगर्ने र त्यहाँ घेराबारा गरेर वृक्षारोपण गर्ने पनि वरालले जानकारी दिए ।

स्थानीयको जिविकोपार्जनमा योगदान

maniram-rai

धरानको वडा नं २० का वडाअध्यक्ष मणिराम राई ।

वडा नं २० का जनप्रतिनिधिहरुले पर्यटनमा लगानी भित्रदा स्थानीयबासीको जिविकोपार्जनमा सकरात्मक प्रभाव पर्ने अपेक्षा गर्छन् । वडा नं २० का अध्यक्ष मणिराम राईले धरानको २० नम्बर वडालाई पर्यटकीय क्षेत्र घोषणा पनि गरेकोले धेरै सम्भावना भएको बताए । उनले पार्कको अवधारणाले स्थानीयको जीवनस्तरमा पनि प्रभाव पर्ने र पर्यटनले फड्को मार्ने बताए । वडा नं २० धार्मिक पर्यटन र कृषि क्षेत्र पनि भएको उनले बताए । ‘यहाँ धेरै सम्भावना छ । होम स्टे छ, प्याराग्लाइडिङ छ, धार्मिकस्थलहरु विष्णुपादुका, सुलिकोट, सिद्ध पोखरी छ । वडालाई कार्यपालिकाले पर्यटकीय क्षेत्र घोषणा गरेको छ,’ उनले भने ।

वडा सदस्य कर्णबहादुर तामाङले पर्यटनको प्रचुर सम्भावना भएपनि वडा नं २० मा बत्तिमुनि अध्यारो जस्तै भएको बताए । पर्यटनमा लगानीहरु भित्रिरहे पनि पुर्वाधार नभएको भन्दै उनी चिन्ता प्रकट गर्छन् । ‘कालीमाटी भन्ने ठाउँ विचित्र हो, धरानको नजिकै छ । लुकेको क्षेत्र हो । यहाँ खानेपानी समस्या छैन, चुनौती पुर्वाधारको बाटो नै हो । हामीले त्यता ध्यान दिएका छौं,’उनले भने,‘पार्क बन्दा आर्थिक उपार्जन हुन्छ, होटल चल्छ । व्यापार बढ्छ ।’

कोभिड सधैभरि रहदैन: मगर

Alina-Magar

एलिना मगर, प्रबन्ध निर्देशक, सेक्ष ट्राभलिङ

धरान उपमहानगरपालिकाकी पर्यटन विकास समितिका सदस्यसमेत रहेकी सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले धरान वडा नं २० लाई पर्यटन हबकोरुपमा विकास गर्न खोजिरहेको बताउँछिन् । पुर्वाधारमा लगानी भित्रिदा विष्णुपादुका पर्यटनको हब बन्ने उनले बताइन् । ‘यो ठाउँ धरान नजिकैको गन्तव्य हुन्छ, लगानी भइसकेपछि पर्यटकहरु आकर्षित हुन्छ,’उनले भनिन्,‘कोभिड महामारी सधैभरि रहदैन । लकडाउनले गुम्सिएर बसेका मानिसहरु बाहिर निस्कन चाहिरहेका छन्, उनीहरुलाई मनोरञ्जन हुने र आकर्षित गर्ने गरि लागनी गर्न सकियो भने व्यवसायीको लगानी पनि सुरक्षित हुन्छ ।’

sechha4 sechha2 sechha3 sechha6