धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा धरान १५ बगरकोटका व्यवसायीहरु निराश थिए । बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ ।

दैनिक हजारौं पाहुनाहरुलाई आतिथ्यता गर्ने बगरकोटका व्यवसायीहरु लामो समय हात बाँधेर घरभित्रै बस्न बाध्य भए । लकडाउन खुकुलो भएसँगै व्यवसाय पनि शुरुवात गरेका यहाँका व्यवसायीहरु अंग्रेजी नयाँ बर्ष २०२१ को स्वागतसँगै आन्तरिक पर्यटन र व्यवसाय फष्टाउने आशाले उत्साहित छन् । बगरकोट व्यवसायी मञ्चका अध्यक्ष जीवन लिम्बुका अनुसार बिहिबार न्यु इभर इभ र शुक्रबार नयाँ बर्षको पहिलो दिन बगरकोटमा खुट्टा राख्ने ठाउँ थिएन । इभमा मध्यराती १ बजेसम्म प्रहरी, प्रशासनले बगरकोट खुला गर्न छुट दिएको थियो भने हिजो शुक्रबार राती १० बजेसम्म मात्र बगरकोट खुलेको थियो ।

bagarkot2

तस्बिर स्रोत: उमेश भण्डारी

मञ्चका अध्यक्ष लिम्बु नयाँ बर्षले व्यवसाय राम्रो भएको भन्दै खुशी व्यक्त गर्छन् । उनले भने,‘कुनै पनि अप्रिय घटना नभै न्यु इयर इभ र न्यु इयर बगरकोटमा सम्पन्न भयो । पाहुनाहरु २५, ३० हजार भेला भए । सिट नपाउला कि भनेर २, ३ दिनअघि नै बुक गरेका थिए ।’ उनका अनुसार लकडाउनले लामो समय घरभित्रै बस्नु परेको कारण पनि अहिले मानिसहरु विस्तारै घुमघाम, खानपिनको लागि होटल, रेष्टुरेष्टमा परिवारसहित आउन थालेका छन् ।

पछिल्लो २ दिनको कार्यक्रमले बगरकोट क्षेत्रलाई नाइट मार्केट बनाउन आवश्यक रहेको भन्ने प्रमाणित गरेको मञ्चका अध्यक्ष लिम्बुको भनाई छ । उनका अनुसार न्यु इयर इभमा राती १ बजेसम्म पनि पाहुनाहरु रमाउदै बसेका थिए । उनीहरु अझ २, ३ बजेसम्म नै मनोरञ्जन गर्दै बस्न तयार थिए । ‘यो दुई दिनको कार्यक्रमले पनि फेरि धरानको बगरकोटलाई नाइट मार्केट बनाउनुपर्ने आवश्यकता छ भन्ने मशसुस भयो,’एमएच लाउन्ज एन्ड बारका सञ्चालकसमेत रहेका उनले भने,‘स्थानीय सरकार, प्रहरी प्रशासनले यो बिषयमा ध्यान दिनुपर्छ, हामीले के गर्नुपर्ने हो, व्यवस्थित गर्न तयार छौं ।’ बगरकोटलाई नाइट मार्केट बनाउन सकिएमा व्यापार, व्यवसाय र पर्यटनलाई नै टेवा पुग्ने उनको भनाई छ ।bagarkot1

धरानमा धेरै अघिदेखि नाइट मार्केटको आवाज उठेपनि अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन । खासगरि बगरकोटलाई नाइट मार्केट घोषणा गरेर जानुपर्ने त्यहाँका व्यवसायीहरुको माग छ । उनीहरुले स्थानीय तह र प्रहरीप्रशासनसँग अनुरोध गर्दै आएपनि सुनुवाई भएको छैन । प्रहरी प्रशासनले सुरक्षाको कारण देखाउदै विगतमा राती ११ बजेभित्रै बगरकोटका होटल, रेष्टुरेष्ट एवं लाउञ्ज एण्ड बारहरु बन्द गराउथ्यो भने हिजोआज साढे ९ बजेभित्रै बन्द गराउने गरेको छ । जसले गर्दा राती अबेरसम्म खानपिन गर्दै रमाउन चाहनेहरु यो सुविधाबाट बञ्चित हुने गरेका छन् ।