धरान: इटहरी निवासी वरिष्ठ संगीतकर्मी एवं पुर्व प्राज्ञ राम धामीको निधन भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५५ बर्षीय धामीको आज आइतबार साँझ निधन भएको हो । धामी प्रतिष्ठानको आइसियुमा उपचाररत थिए । प्राज्ञ धामीको कोरोना संक्रमण भएर पनि उपचार पश्चात रिपोर्ट नेगेटिभ आइसकेको थियो । तर, उनलाई निमोनिया भएको कारण आइसियुमा राखेर उपचार भइरहेको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । ‘कोरोनाको रिपोर्ट नेगेटिभ आइसकेको थियो, तर निमोनिया भएर आइसियुमा उपचार भइरहेको थियो,’गौतमले भनिन्,‘आज केही बेरअघि दुःखद निधन भयो ।’

मृतक धामी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पुर्व प्राज्ञ थिए । उनी इटहरीस्थित साधना प्रतिष्ठान इटहरीका अध्यक्ष पनि थिए । उनी संगीत प्रशिक्षक पनि थिए । उनले थारु र नेपाली थुप्रै गीतहरु गाएका छन् भने संगीत पनि भरेका छन् ।प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक धामीको पिसिआर रिपोर्ट नेगेटिभ आइसके पछि बिहिबारदेखि मेन आइसियुमा राखेर उपचार भइरहेको थियो । आज भने एक्कासी मुटूको धड्कन बन्द भएर धामीको निधन भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।