धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल स्पर्धामा धरानका सन्देश बम्जन पनि पर्न सफल भएका छन् ।

उनी नेपाल स्टारको टप ४ अर्थात उत्कृष्ट ४ फाइनलिष्टमा पर्न सफल भएका हुन् । उनी धरान वडा नं २ मा हुर्के बढेका हुन् । उनको परिवार भने हाल धरान ३ मा बस्दै आएको छ । नेपाल स्टारमा सहभागी हुदै सफलता पाउदै गएपछि धरानमा बम्जनलाई जिताउन अभियान नै चलेको थियो । टप ४ मा पुगेका बम्जन आइतबार धरान आएका थिए ।

बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा गायक बम्जन र उनका बुबा पशुपति तामाङले एसएमएस भोट दिएर जिताउन आग्रह गरे । सन्देशका बुबा पशुपतिले आफुले धरानमा २०४३ सालदेखि टेम्पु चालक भएर यातायात क्षेत्रमा मजदुरी शुरु गरेको खुलाउदै सानैदेखि सन्देश गीत गाउने गरेको बताए । उनले हालसम्म धरानबासी र देशविदेशमा रहेका शुभचिन्तकहरुको भोटमार्फत आफ्नो छोरा टप ४ मा पुग्न सफल भएको भन्दै अझै पनि भोटिङ गर्न आग्रह गरे । ‘आज मेरो छोरा टप ४ मा पुगेको छ, यो सबै धरानबासी र देशविदेशमा रहनुभएका सम्पुर्ण आमाबुबा, दाजुभाई, इष्टमित्रहरुको कारणले हो, अब पहिलो स्थान बनाउन पनि यसरी नै सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छुँ,’उनले भने ।

sandesh1

धरानमा सन्देशलाई जिताउ अभियानले मंगलबार भानुचोकमा सांगीतिक कार्यक्रम गर्ने पनि जानकारी दिएको छ । नेपाल स्टारका प्रतियोगी बम्जनले पनि आफुलाई एसएमएस भोटिङ गरेर जिताउन आग्रह गरेका छन् । उनलाई भोट गर्नको लागि मोवाइलमा NS१३ टाइप गरेर ३३००१ मा सेन्ड गर्नुपर्नेछ । प्रत्येक शनिबार बेलुकी ९ बजेदेखि बिहिबार राती १२ बजेसम्म भोट गर्न सकिने बताइएको छ ।

sandesh sandeshko