वासिङ्टन: चुनावमा पराजित डोनल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने,'यो प्रजातन्त्रको दिन हो। प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।'

नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए। उनले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोलेका थिए । विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद उनले आफ्ना मुख्य चुनौती मानेका छन्।

यी समस्याका बारेमा बाइडनले आफ्नो समाधानको सूची प्रस्तुत त गर्ने छन् नै तर राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै उनले प्रस्तुत गरेका उपाय होः 'राष्ट्रिय एकता।'joe

ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्। निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन्।

 

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन्। समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्। डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै 'आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो' भनेकी छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ। 'हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,' सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्। उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले 'ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।'

उनका मुख्य आदेश कस्ता छन् ?

कोरोनाभाइरस महामारी

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन् :

-विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने।

-भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
-कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
-सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
-आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट

-वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छः

-सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनस् सामेल हुने
-विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द।

-वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए

आप्रवासन

-आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन्ः

-ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
-मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

आदेश गर्नु त सजिलो पाटो हो- विश्लेषण

जो बाइडन तथा उनका टोलीसँग यी प्रारम्भिक कदमको तयारीका निम्ति झन्डै तीन महिना उपलब्ध थियो। डोनल्ड ट्रम्पले उनको कार्यकारी आदेश जारी गर्नसक्ने शक्तिलाई आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन प्रयोग गरेका थिए। त्यसैले बाइडनले कहिले र कसरी ती काम उल्ट्याउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

बाइडनले त्यसो गर्न धेरै समय लगाएनन्। तर कार्यकारी आदेश जारी गर्नु त बाइडनका लागि सबभन्दा सजिलो पाटो हो। खास परिवर्तन गर्न त अब उनले यी विषयलाई दीर्घकालीन स्थायित्व दिनेगरि नीतिगत व्यवस्था गर्न सक्नुपर्छ।

त्यसका निम्ति उनले कङ्ग्रेससँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। संसदको दुवै सदनमा डेमोक्र्याटहरूको झिनो बहुमत रहेकाले बाइडनलाई अवसर भने छ। तर त्यसका निम्ति उनले रिपब्लिकनहरूले तेर्स्याउन सक्ने प्राविधिक तथा प्रक्रियागत अवरोध छिचोल्न सक्नुपर्नेछ। यहीँनेर बाइडनको दशकौँ पुरानो अनुभव काम लाग्न सक्छ।