धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भइरहेको अण्डर १३ उमेर समुहको खेलाडी छनौटअन्र्तगत धरान क्षेत्रबाट २५ जना छानिएका छन् ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हिजो शुक्रबार र आज शनिबार भएको छनौट कार्यक्रमबाट २५ जना अण्डर १३ खेलाडीहरु छानिएका हुन् । एन्फा सुनसरी उपाध्यक्ष नविन राईका अनुसार उनीहरु अब माघ २९ र ३० गते इटहरीमा हुने जिल्ला छनौटमा सहभागी हुनेछन् । जिल्ला छनौटमा धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट छनौट भएका खेलाडीहरुबीच छनौट हुनेछ । ‘शुक्रबार पहिलो दिन ४० जना जति छनौटमा आए, आज ५८ जना थप छनौटमा सहभागी भए,’उपाध्यक्ष राईले भने,‘अब २९ र ३० गते जिल्ला छनौटमा सबै क्षेत्रबाट छानिएकाहरु सहभागी हुन्छन् ।’

under2

छनौटमा सहभागीहरुको जन्मदर्ता, खेल कौशल हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फाको भनाई छ । अण्डर १३ मा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गतेभित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो । तर छनौट कार्यक्रममा अण्डर ११, अण्डर १२ उमेर समुहकाहरु पनि सहभागी भएका थिए । उनीहरुलाई पनि सिक्ने अवसर मिल्ने भएकोले छनौट प्रक्रियामा सहभागी गराए पनि छनौट भने नगरिएको उपाध्यक्ष राईले बताए । सहभागीहरुलाई समुह समुह बनाएर प्रतिस्पर्धा गराइएको थियो ।

under

एन्फाले २०७८ देखि क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए.एफ.सि.लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ । त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरु ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउने उपाध्यक्ष राईले जानकारी दिए । ‘विभागीय टोली आर्मी, सशस्त्र, पुलिसले एकेडेमी राख्दैछ, अन्य ए डिभिजन क्लबहरुले पनि राख्ने तयारी छ । यो छनौट कार्यक्रमबाट छानिएकाहरु ती क्बलको एकेडेमीमा रहन्छन्,’उनले भने । तस्बिरहरु: प्रताप तामाङ
under3