धरान: गत चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु भयो । आम मानिसहरु घरभित्रै थुनिए । बजार, यातायात सबै ठप्प भयो ।

लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा व्यवसायीहरु निराश भए, उनीहरुले ठुलो आर्थिक नोक्सानी व्यवहोर्नुपर्यो । तर, यही लकडाउनले धरानका केही युवाहरुलाई व्यवसायी पनि बनायो । लकडाउन शुरु भएको ३ महिनापछि गएको असारमा साथीभाईबीच सल्लाह गरेर १० लाख रुपैयाबाट हरियो सागसब्जी र फलफुलबाट अनलाइन व्यापार शुरुवात गरेका थिए । त्यही अनलाइन सपिङले धरानका युवाहरु व्यवसायी बन्दै आर्थिक आयआर्जनको बाटोमा अघि बढेका छन् । उनीहरुले धरान १५ भानुमार्गमा सप अर्डर प्रालि सञ्चालनमा ल्याएका छन् । यसको औपचारिक उद्घाटन भने फागुन ४ गते गर्ने सञ्चालकहरुले बुधबार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

लकडाउनको समयमा घरभित्रै सिमित र बजार पनि खुला नभएको बेला अनलाइनमार्फत सामान मगाउने लहर चल्यो । प्रहरी, प्रशासनले पनि साग सब्जी र खाद्यान्नको होम डेलिभरी सेवालाई छुट दिएको थियो । त्यसबेला घरघरमा सामान पुर्याएर अनलाइन व्यापारमा हात हालिएको प्रालिका सचिव प्रदिप राईले बताए । ‘कोरोनाले बजार खुलेको थिएन, मानिसहरु बजार जान पनि हिच्किचाउथे । त्यो बेला समान घरमा नै पुर्याएर सेवा शुरु गर्ने भन्ने सोच आयो,’उनले भने,‘शुरुवात फलफुल र तरकारीबाट गर्यौं । फोन कलबाट अर्डर लियौं, विस्तारै अन्य ग्याजेट, लत्ताकपडाहरु पनि शुरु गरेका छौं ।’

shop-order1

प्रालिले अहिलेसम्म हरियो सागसब्जी, फलफुल र किराना आइटममा निःशुल्क सेवा दिइरहेको जनाएको छ । माघ ४ गतेदेखि विभिन्न रेष्टुरेष्टका फुड आइटम, इलेक्ट्रोनिक्स, फैन्सी वेयर, स्पोर्टस् सामग्री, किरानाका सामान र पुस्तकहरु समेत अनलाइन अर्डरमा होम डेलिभरि सर्भिस दिइने अध्यक्ष सुमन लिम्बुले बताए । ‘हामी केही युवाहरु मिलेर अहिलेको ब्यस्त जनजीवनलाई मध्यनजर गर्दै सहजरुपमा व्यवसायसँगै सेवा प्रदान गर्ने उद्देश्यले अप अर्डर शुरु गर्न लागेका छौं,’उनले भने,‘अहिलेसम्म ट्रायलकोरुपमा थियो, अब विधिवतरुपमा दर्ता भएर नै फागुन ४ गतेदेखि शुरुवात गछौं ।’

shop

उद्घाटन भएको दिनदेखि १ महिनासम्म हरियो तरकारी, फलफुल र किराना आइटममा निःशुल्क डेलिभरि सेवा दिने प्रालिको भनाई छ । यस्तै, फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था हुनेछ भने एक सातासम्म सेवा लिने ग्राहकहरुलाई लक्की ड्र कुपन दिएर ३ जना विजेतालाई बिशेष उपहार दिइने पनि अध्यक्ष लिम्बुले बताए । ‘अर्डर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म लिन्छौं, एक घण्टाभित्र सामान डेलिभरि हुन्छ,’उनले भने,‘हामीलाई फोनबाट, फेसबुकबाट, इन्टाग्राम र वेडसाइटमा पनि लगइन गरेर अर्डर टिपाउन सकिन्छ ।’

लकडाउनको बेलाभन्दा अघि व्यापार केही खस्किएको भएपनि दैनिक २० देखि ३० हजारको कारोबार भइरहेको प्रालिले जनाएको छ । प्रालिले २ सय रुपैयासम्मको अर्डर लिने र भानुचोकदेखि ५ किलोमिटर क्षेत्रमा २५ रुपैया डेलिभरि शुल्क लिने जनाएको छ । त्यसबाहेक दुरी अनुसार ४० देखि १५० सम्म पनि शुल्क लिने अध्यक्ष लिम्बूले बताए । धरानसँगै तरहरा, इटहरी, यांगशिला, सतिसाल, चतरा, चक्रघट्टीसम्म सेवा दिने उनको भनाई छ । साथै, फेन्सी आइटम, इलेक्ट्रोनिक्स र स्पोर्टस् आइटमको सेवा चाडै प्रदेश १ भरि नै विस्तार गर्ने योजना रहेको खुलाए ।