विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवण कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

सिमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भएका चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वेत्कृष्ट प्रहरी घोषणा गरेको हो । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको साथै अवैध हातहतियारसहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी, प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारीलगायतमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न भुमिका खेलेको भन्दै सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ। सर्वोत्कृष्ट घोषित प्रहरीलाई पुरस्कृत गर्ने र उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ राखिने गरिएको छ । साथै, १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म फ्लेक्स प्रिन्ट गरेर राखिने गरिएको छ ।