धरान: खानेपानी संस्थानको धरान शाखाले दिन विराएर पनि नगरबासीलाई पानी वितरण गर्न सहज नहुने भन्दै पन्छिन खोजेको छ ।

खानेपानीको चरम अभाव खेपिरहेको धरानबासीहरुलाई यसको दोष धरान खानेपानी व्यवस्थापन बोर्डलाई लगाएर उम्कन खोजेको भन्दै बोर्डले आपपित्त प्रकट गरेको छ । संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले आइतबार एक विज्ञप्ती जारी गर्दै बोर्डले जानकारी नदिई इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने र एक संस्थाबाट मात्र पानी वितरणको प्रक्रिया अघि नबढेसम्म दिन विराएर पनि खानेपानी आपूर्ति गर्न सहज नहुने जनाएको थियो ।

संस्थानको यो विज्ञप्ती पछि आइतबार साँझ नै बोर्डले उपमहानगरपालिकामा आकस्मिक पत्रकार सम्मेलन गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले आयोजनाले शुरुवातदेखि नै संस्थानसँग सहकार्य गरेको जनाएको छ । साथै, संस्थानले हालसम्म धरानबासीहरुसँग महशुल उठाइरहेकोले महशुल लिएका ग्राहकहरुलाई खानेपानी पुर्याउने जिम्मेवारी संस्थानकै भएको पनि पोखरेलले बताए । ‘पानीको महशुल काउन्टर बन्द गरी हस्तान्तरण प्रक्रिया सहज बनाउन उपमहानगरपालिका तथा बोर्डले गरेको अनुरोधलाई बेवास्ता गरी पानी आपूर्ति गर्न असहज हुने भनि विज्ञप्ती निकाल्नु आप्mनो जिम्मेवारीबाट पन्छिने बहाना मात्र भएको बोर्डको ठहर छ,’बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

press

बोर्डले हाल संस्थान र आयोजनाको संरचना प्रयोग गरेर पानी वितरण गर्न लागिपरेको जनाएको छ । संस्थानले नै विगत २२ बर्षदेखि वीपी प्रतिष्ठानमा समेत पानी वितरणको संरचना सञ्चालन गरिरहेकोले उक्त दायित्व लिनको लागि प्रतिष्ठानको स्वामित्वमा रहेको खानेपानीको संरचनाको यथार्थ विवरण पेश गर्न समिति गठन भइ काम भइरहेको बोर्डको भनाई छ । स्थलगत निरीक्षको क्रममा संरचनाहरु बिग्रिएर उत्पादनमा समस्या देखा परेको र थुप्रै संरचनाहरु मर्मत गर्नुपर्ने भएकोले ती संरचनाहरु दुरुस्त गरेर प्रतिष्ठनलाई बुझाउन बाँकी नै छ ।

प्रतिष्ठानले खानेपानी संस्थानबाट आफ्नो संरचना जिम्मा लिएपछि प्रतिष्ठान र बोर्डबीचमा सञ्चालनको लागि सम्झौता हुनुपर्ने कार्य बाँकी रहेको निर्देशक पोखरेलले बताए । ‘हस्तान्तरण सम्बन्धमा उपमहानगरपालिका र प्रतिष्ठानप्रति उत्तरदायि बन्न संस्थानलाई आग्रह गर्दै यथाशक्य छिटो बोर्डमार्फत धरानबासीलाई नियमित खानेपानी आपूर्ति गरिने प्रतिवद्धता समेत व्यक्त गरिन्छ,’विज्ञप्तीमा भनिएको छ ।