धरान: कलाकार पल शाह युवाहरु माझ निक्कै लोकप्रिय छन् । तिनै कलाकार शाह म्युजिक भिडियो सुटिङ गर्ने क्रममा धरान छन् । तर, यहाँ उनको सुटिङ भन्दा पनि अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र आक्रमण प्रयास भएको काण्डले चर्चामा छन् ।

शाह र उनका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध प्रधानले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । घटना बुधबार साँझको हो । धरान १० स्थित ज्वाँई खाना घरमा भेट हुँदा चलचित्र क्षेत्र सम्बन्धी एक कार्यक्रमको लागि चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले निमन्त्रणा गरेका थिए । तर, शाहले आउन नमाने पछि फेसबुकमा राखेको पोष्ट प्रधानले डिलिट गर्ने जानकारी गराए । त्यही सामान्य बिषयमा शाहका सेक्रेटरीले आफुलाई दुव्र्यवहार र मुक्का प्रहार गरेको प्रधान बताउँछन् । उक्त घटनापछि प्रधानले शाह र उनका सेक्रेटरी जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा हिजो बिहिबार निवेदन दिएका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेद्र बस्नेतले प्रधानले हिजो निवेदन दिएको र आज दिउँसो १ बजेतिर छलफलको लागि बोलाएको जानकारी दिए । उनले भने,'निवेदन परेको छ, आज दिउँसो छलफलको लागि बोलाएको छौं ।' प्रधानले शाहको म्युजिक भिडियोका निर्देशक आफ्नो मित्र भएकोले छाँयाकनको लागि सबै सहयोग गरेको बताउँछन् । तर, सामान्य कुरालाई लिएर शाहको सेक्रेटरीले आफुमाथि दुव्र्यवहार गर्दै धरानका केटाहरु बोलाएको र आफु माथि जाई लागेको उनको भनाई छ । 'पल शाह कार्यक्रममा नआउने भनेपछि केहीबेर सामान्य विवाद जस्तो भयो, तर त्यो कुरा टुंगिसकेको थियो,' उनले भने, 'तर उनीहरुले धरानका युवाहरु बोलाएछन्, उनीहरु आएपछि सेक्रेटरीले एक्कासी ममाथि जाइलाग्यो ।'

पल शाहले भने आफुमाथि नै प्रधानले दुव्र्यवहार गरेको प्रतिक्रिया दिएका छन् । आफुविरुद्ध उजुरी परेको खबर पाएपछि मिडियालाई प्रतिक्रिया दिदै प्रधानले निमन्त्रणा गर्दा आफुले मेनेजर कृष्णसँग कुरा गर्न भनेपछि 'यो भाई ठुलो भयो, यसको नाम हटाइदिन्छु' भन्दै औला ठड्याउदै पिट्न खोजेको बताएका छन् । त्यही बेला कृष्ण र प्रधानबीचमा धकेलाधकेल भएको भने स्वीकारेका छन् । 

paul-sahko