सुनसरी : सुनसरीमा चलचित्र पत्रकार संघ, नेपालको शाखा गठन भएको छ ।

आज बुधबार इटहरीको ईलाइट सिनेमा हलमा भएको रङ्ग पत्रकारहरुको भेलाले संघको शाखा गठन गरेको हो । चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आथित्यमा भेला आयोजना भएको थियो । उक्त भेलाले हार्ट एफ एम धरानका कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद बिश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मनोज दाहाल, सचिवमा सुमन भट्टराई, सहसचिवमा शरुपा थापा मगर, कोषाध्यक्षमा सविना बान्तवा चयन भएका छन् । यस्तै, सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर वी कटवाल, राज कुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेकी छिन् । कार्य समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठकले थप गर्ने सचिव भट्टराईले जानकारी दिए ।

chalchitrako

कार्यक्रमका प्रमुख अतिथी एवं चलचित्र बिकास बोर्डका पुर्वअध्यक्ष राईले नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै चलचित्र क्षेत्र बढो अप्ठ्यारो स्थितिमा रहेको बेला गठन भएकोमा धन्यवाद पनि दिए । चलचित्र पत्रकारहरु व्यक्ति बिशेषमा रहेर अगाडि बढीरहेकोले भन्दै उनले अब त्यस प्रवृत्तिलाई चिर्दै अघि बढ्न पनि आग्रह गरे । उनले सत्य तथ्य, नयाँ नौलो प्रविधिमा चलचित्र क्षेत्रमा खोजमुलक पत्रकारिता हुने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ समितिका अध्यक्ष नरेन्द्र बस्नेत, चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान, निर्माता तथा कलाकार पर्शुराम चौधरी , निर्माता तथा निर्देशक भीम लामा, संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी , कलाकार तथा चलचित्रकर्मी महा संघ प्रदेश १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, अग्रज पत्रकार एवं कोशी अनलाइनका सम्पादक सुविद गुरागाई, अग्रज पत्रकार कृष्ण अधिकारी, निर्माता तथा निर्देशक प्रकाश सुब्बा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।