इटहरी: लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी बनाउन इटहरीमा सवै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था गरिएको छ ।

विद्यालयका शिक्षिका, शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो । इटहरीका सवै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन् । उनीहरुले विद्यालय तथा आसपासको समुदाय सँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । 'हिंसाबाट जोगिन के गर्नुपर्छ, हिंसा भइहाले के गर्ने ? भन्ने बिषयमा उहाँहरुले विद्यालयमा सचेतनामूलक कक्षा संचालन गर्नुहुने छ,'गौतमले भनिन् ।

सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखिकरण सम्पन्न गरेको छ । अव प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क ब्यक्ति र विद्याार्थीहरु विच पनि अभिमुखिकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिइन् ।