विराटनगर: मकालु टेलिभिजनले संगीत पारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ। 

टेलिभिजनका प्रमुख कार्यकारी दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको छ । टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा दर्शकको रोजाईलाई आत्मसात गर्दै निर्माण भइरहेको बताए। उनले मोफसलमा रहेका प्रतिभालाई टेलिभिजन मार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउन कुनै कसर बाँकी नराख्ने प्रस्टाए। टेलिभिजन प्रमुख सुवेदीले दर्शकलाई मनोरञ्जन दिलाउने उद्धेश्यसहित बैशाखबाट थप केही नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए। 

अनप्लग्डमा सहभागि बेलबारीस्थित नमूना ब्याण्डकी गायिका अष्ट्रिन लिम्बुले मोफसलका संगीतकर्मीहरुलाई कार्यक्रममा स्थान दिदा सुखद अनुभूति भएको बताईन्। कोभिड १९ महामारीपछि कन्सर्ट र कार्यक्रममा ब्यस्त हुदै आएकी गायिका लिम्बुले टेलिभिजनले सांगीतीक क्षेत्रमा चालेको कदम सराहनीय भएको उल्लेख गरिन्। कार्यक्रममा प्रावीधिक सहयोग पुराएका स्मृति ब्याण्डका सदस्य दिपेन थापाले कोभिडको महामारीलाई विर्साउनका लागि सुरु गर्न लागिएको प्रयासलाई दर्शकले मन पराइदिनुहुने विश्वास लिए। 

टेलिभिजनका कार्यकारी निर्माता अभयकुमार राईले १० श्रृंखलाको अनप्लग्डमा मोरङका गायकगायिकालाई प्राथमिकतामा राखिएको जानकारी दिए। अनप्लग्डका एपिसोडहरु टेलिभिजनले नै उत्पादन गरिरहेको बताएका राईले आइतबारबाट कार्यक्रमको प्रोमोपनि अन एयर गरेको छ। अनप्लग्डको यस श्रृखलामा गायकले आफ्नै सृजनाको गीत, अङ्ग्रेजी, कभर, र स्थानीय भाषाको गीत समेटेको उनले जानकारी दिए।