विराटनगर: मोरङमा कार्यरत दुई जना प्रहरी जवानलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरी जवान प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भएपनि प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा रहेर कार्यरत छन् । यस्तै, बस्नेत प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन् ।

दुवै प्रहरी जवानले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको साथै कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराध गरि फरारहरुलाई पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, चोरी पैठारी तथा प्रतिबन्धित लागुऔषध कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।