धरान:२१ औं गोधुली रनिङ कपमा धरानको वडा नं १९ लाई स्तब्ध बनाउदै वडा नं १४ फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको सेमीफाइनल खेलमा वडा नं १९ लाई टाइब्रेकरमा ४–२ ले स्तब्ध बनाउदै वडा १४ उपाधि नजिक पुगेको हो । गोधुली कपमा वडा नं १४ पहिलो पटक फाइनल पुगेको हो । वडा नं १४ ले उपाधिको लागि शनिबार वडा नं १६ को सामना गर्नेछ । दुवै वडाले अहिलेसम्म उपाधि जितेको छैन । वडा न. १६ ले बुधबार पहिलो सेमीफाइनल खेलमा वडा नं १७ लाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । वडा नं १६ चौथो पटक फाइनल खेल्ने तयारीमा छ । गत बर्ष वडा नं १६ फाइनलमा वडा १७ सँग पराजित भएको थियो ।

बिहिबारको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि वडा १४ र १९ ले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा वडा नं १४ को लागि पहिलो प्रहार गरेका विवेक राई गोल गर्न चुके पनि सन्दिप राई, मिन श्रेष्ठ, समिर तामाङ र सौगात गुरुङले गोल गर्दै टिमलाई जित दिलाए । वडा नं १९ का योगेश राई र सुशन रम्तेल मात्र गोल गर्न सफल भए । एन्सन राई र प्रमेश गोल गर्न चुकेपछि वडा १४ लाई फाइनलको लागि ढोका खुलेको थियो । फाइनल खेलको म्यान अफ दि म्याच वडा नं १४ का गोलकिपर राजिव खड्का घोषित भए । प्रतियोगिताको फाइनल खेल शनिबार वडा नं १४ र १६ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।