धरान: बर्षेनी धरानमा आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटवल प्रतियोगिता यसबर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ । 

आयोजक होराइजन क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता राष्ट्रियस्तरको आयोजना गर्ने जानकारी दिएको हो । धरान १८ बुद्धचोकस्थित कोइच क्याफेमा आयोजित पत्रकार सम्मेलनमा पाँचौं राष्ट्रिय होइराइजन बास्केटवल कप प्रतियोगिता यही चैत १४ गतेदेखि १७ गतेसम्म आयोजना गर्ने जानकारी दिइएको छ । क्लबका अध्यक्ष बसन्त राईका अनुसार प्रतियोगिता धरान १७ स्थित श्री माविको बास्केटवल कोर्टमा आयोजना हुनेछ । 

प्रतियोगितामा विभिन्न ८ वटा टिमको सहभागिता हुनेछ । प्रदेश नं १ बाट आयोजक होराइजन क्लब धरान, इमोर्टल क्लब धरान, ब्रदर्श क्लब धरान, तरहरा बास्केटवल क्लब इटहरी र युवा जागृति क्लब धरानको टिम हुनेछ भने काठमाण्डौंबाट नेपाल आर्मी र टाइम्स क्लब सहभागी हुने अध्यक्ष राईले जानकारी दिए । यस्तै, रुपेन्देही जिल्लाको बास्केटवल टिम सहभागी हुनेछ । प्रदेश नं १ को टिम स्पर्धा गरेर नै ५ वटा टिम छनौट गरिएको पनि उनले बताए । 

प्रतियोगिताको च्याम्पियनले नगद १ लाख पाउनेछ भने उपविजेताले ५० हजार हात पार्नेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित पुरस्कृत गरिनेछ भने नवप्रतिभा घोषित खेलाडीलाई नगद ५ हजार दिइने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको समापनको दिन एक जना खेलकुद समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गरिनेछ भने साहसिक तथा असाधारण प्रतिभा भएका खेलाडीलाई पनि नगदसहित सम्मान गरिने आयोजक क्लबका अध्यक्ष राईले जानकारी दिए । यस्तै, प्रतियोगिता आयोजनास्थल श्री माविलाई पनि १० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरिने उनले बताए ।