धरान: नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभारा दर्शनको लागि धरानबाट हेलिकप्टरमार्फत यात्रा गर्न सकिने भएको छ ।

धरान होलिडेज प्रालिले यही वैशाख ५ गतेबाट धरानदेखि पाथीभारासम्म हेलिकप्टरमार्फत दर्शन गर्न सकिने जनाएको छ । प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै धरान, इटहरी र विराटनगरका विभिन्न सहकारी संस्थामार्फत सरल किस्ताबन्दीमा समेत विना ब्याज हेलिकप्टरमा पाथीभारा दर्शन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । सहकारीमार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभारा दर्शन गर्न सकिने प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए ।

पाथीभारा दर्शनको लागि एक जनाको शुल्क २९ हजार ९ सय ९९ रुपैया तोकिएको छ । प्रालिले माउण्टेन फ्लाइट गर्न चाहनेहरुको लागि पनि सेवा दिने जनाएको छ । यसको लागि प्रतिव्यक्ति ६९ हजार ९ सय ९९ शुल्क तोकिएको छ । प्रालिका अनुसार धरान, इटहरी र विराटनगरका विभिन्न सहकारीमार्फत सरल किस्ताबन्दीमा हेलिकप्टार यात्राको सुविधा उपलब्ध छ । यसको लागि सहकारीको सदस्य हुनुपर्ने छ । हेलि यात्राकै लागि सहकारीको सेयर सदस्य बनेर पनि यो सुविधा लिन पाउनेछन् । धरानका झरना, हातेमालो, शिखर, उद्यमशिल, पुर्वेली, निसानलगायत विभिन्न ९ वटा सहकारीसँग प्रालिले सहकार्य गरेको प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए । यो सुविधाले विपन्न परिवार, अशक्त, ज्येष्ठ नागरिकहरुलाई पनि पाथीभारा दर्शनमा सहज बनाउने उनको भनाई छ ।

dharan-holidays

प्रालिले ७० बर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएकोछ । तर यो छुट सुविधा किस्ताबन्दीमा भने उपलब्ध नहुने प्रालिले जनाएको छ । यस्तै, धरानका इच्छुक पत्रकारहरुलाई पनि पाथीभारा दर्शनको लागि २५ प्रतिशत छुट दिइने प्रालिले घोषणा गरेको छ । यो छुट पनि किस्ताबन्दीमा नभै नगदीमा मात्र उपलब्ध हुनेछ । पाथीभारा २५ मिनेटमा पुग्ने र ४५ मिनेट यात्रुहरुलाई दर्शनको लागि समय दिइने पनि प्रालिले जनाएको छ । 

प्रालिले पाथीभाराबाहेक खोटाङको हलेसी, संखुवासभाको गुफापोखरी जान चाहनेहरुलाई हेलिमार्फत लैजान सकिने जनाएको छ । तर, यसको लागि ५ जनाको समुह हुनुपर्नेछ । ती क्षेत्रहरुमा दुरीको हिसाबले शुल्क लाग्ने प्रबन्ध निर्देशक मानन्धरले जानकारी दिए । यस्तै, दुर्गभ भेगका विरामीलाई उपचारको लागि उद्दार गर्नुपरेमा पनि हवाई एम्बुलेन्सको रुपमा सेवा दिइने उनले बताए । 

भिडियोसहित: