काठमाडौँ: कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको हो । यस्तै, २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले जानकारी दिए । रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताइएको छ । 

सीसीएमसीले कोरोनाबाट अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ को मोरङसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बागलुङलाई अतिप्रभावित जिल्लाको सुचीमा राखेको थियो ।