धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा उद्घाटन भए पश्चात स्थगित भएको छ ।

दोस्रो बैठक सुनसरी उद्योग वाणिज्य संघको हलमा प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगर सभा उद्घाटन भएको थियो । नगर सभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आगामी आर्थिक बर्षं २०७८, ७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् । त्यसपछि, बिशेष अतिथि एवं प्रदेश सभा सदस्य उमिता वराइली र प्रमुख अतिथि एवं सभामुख भण्डारीले सम्बोधन गरे पश्चात सभाध्यक्ष एवं मेयर तिलक राईले असार १९ गते बैठक बस्ने गरि स्थगित भएको घोषणा गरेका थिए ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार यो बीचमा वडाहरुले आफ्नो योजना, कार्यक्रमहरु छनौट गरेर पेश गर्नुपर्नेछ भने महाशाखाहरुले पनि आफ्नो कार्यक्रम तयार गरे बजेट समितिमा पठाउनुपर्नेछ । बजेट समितिले ती कार्यक्रम तथा योजनाहरुलाई कार्यपालिकाबाट पास गरेर आउदो नगर सभाको बैठकमा पेश गर्नेछ । यस्तै, उपप्रमुख भण्डारीले पेश गरेको आर्थिक विधेयक, विनियोजन विधेयक, नीति तथा कार्यक्रमबारे सुझाव राख्न चाहने नगर सभा सदस्यहरुले असार १५ गतेसम्म नाम टिपोट गर्ने समय उपलब्ध गराएको पनि खतिवडाले जानकारी दिए । नगर सभामा उपप्रमुख भण्डारीले २ अर्ब ३ करोड ६४ लाख बराबरको बजेट पेश गरेकी थिइन् ।