धरान: पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा गठबन्धनका विभिन्न विद्यार्थी संगठनहरुले धरानमा पनि विरोध प्रर्दशन गरेको छ ।

धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट निस्केको विद्यार्थीहरुको जुलुसले धरानको विभिन्न पेट्रोल पम्पहरुमा विरोध प्रर्दशन तथा नाराबाजी गरेको हो । विगतमा विपक्षी गठबन्धन सम्बद्ध भएपनि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै अब सत्तापक्षीय भएका हुन् । पेट्राले पम्पहरु बन्द गराउने सार्वजनिक घोषणा गरेपनि विद्यार्थी संगठनहरु पछि हटेका छन् ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बुद्रोस लिम्बुले धरानमा सबैजसो पेट्रोल पम्पहरुमा पुगेर नारबाजी गर्दै खबरदारी गरिएको बताए । मुल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन तथा विरोध कार्यक्रम जारी रहने पनि उनले बताए । क्याम्पसबाट शुरु भएको विरोध र्याली विभिन्न पेट्रोल पम्पमा नाराबाजी गर्दै धरान ८, बरगाछीस्थित अरुण पेट्रोल पम्पमा पुगेर कोणसभा भएको थियो । 

कोणसभालाई नेवि संघका महेन्द्र क्याम्पस कार्यवाहक सभापति दोर्ची शेर्पा, अखिल क्रान्तिकारीका क्याम्पस ईकाई अध्यक्ष रविन श्रेष्ठ, अनेरास्ववियुको माधव नेपाल पक्षका जिल्ला सचिव आशिष प्रधान, जसपासम्बद्ध विद्यार्थी संगठनका सञ्जोग लिम्बुलगायतले सम्बोधन गरेका थिए ।