धरान: केही दिनयता धरानलगायत पुर्वका पेट्रोल पम्पहरुले माग वमोजिम पेट्रोल पाउन सकेको छैन । 

व्यवसायीहरुका अनुसार अहिले बर्षाको समय र लकडाउनको कारण धेरै सवारीसाधन चलेका छैनन्, त्यसैले पेट्रोल हाहाकार नै भइहालेको छैन । तर, स्थिति सहज हुन्थ्यो भने यो बेला उपभोक्ताले पेट्रोल नपाएर हाहाकार मच्चिसक्थ्यो । शुक्रबार धरानका केही पेट्रोल पम्पहरुले पेट्रोल छैन भनेर सुचना टाँसिसकेको छ। भोटेपुलस्थित हिमालय पेट्रोल पम्पकी सञ्चालिका सुनिता केसी भन्छिन्,‘हामीलाई आयल निगमले बिहिबार पेट्रोल नै दिएन । नाम टिपाएको थियो, तर निगम प्रमुखले नाम काटि दिएकोले पेट्रोल आएन । त्यसैले हाम्रो पम्प त बन्दै छ ।’

पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका महसचिव महेन्द्र अग्रवालका अनुसार पुर्वी नेपालमा माग भन्दा ज्यादै न्युन मात्रामा निगमले पेट्रोल दिइरहेको छ । विगत एक सातादेखि नै निगमको विराटनगरस्थित कार्यालयले माग वमोजिम पेट्रोल दिन नसक्दा व्यवासायीहरुले समस्या झेल्नु परिरहेको छ । ‘हामीले लिखितरुपमा नै पेट्रोल सहज बनाउनुपर्यो भन्यौ, पहल हुदैछ मात्र भन्छन्,’महासचिव अग्रवालले भने,‘अब आइतबार प्रशासनलाई पनि लिखितरुपमा नै जानकारी गराउछौं ।’

निगमले बिहिबार विराटनगर डिपोटबाट १ लाख ४० हजार लिटर मात्र पेट्रोल दिएको एशोसिएशनले जनाएको छ । यो पेट्रोल सुनसरी, मोरंग, सप्तरी, सिराहा, उदयपुर, धनकुटालगायतका विभिन्न जिल्लाहरुको लागि माग भन्दा ज्यादै थोरै भएको महासचिव अग्रवालले बताए । ‘बिहिबार ६ लाख लिटर माग थियो, तर निगमले १ लाख ४० हजार लिटर मात्र दियो, यसरी त कसरी माग थेग्न सकिन्छ ?’उनले भने ।

निगमले ढुवानी भाडा कम हुने भन्दै विहारको बरौनी डिपोबाट पेट्रोल ल्याउन छोडेर सिलगुडी डिपोबाट ल्याउन थालेपछि समस्या बढेको हो । महासचिव अग्रवालका अनुसार सिलगुडीले मेचीकै डिपोलाई पनि आवश्यकता अनुसार पेट्रोल दिन सकेको छैन । विराटनगर डिपोबाट पेट्रोल लिन गएको ढुवानी गाडीहरु अहिले पनि क्युमा छन् । ‘निगमले सही मुल्यांकन गर्न नसक्दा यो समस्या भएको हो, सिलगुडीबाट मेचीकै डिपोलाई त माग अनुसार पेट्रोल दिन सकेको छैन भने विराटनगरको माग कसरी थेग्छ ? यसबारे निगमको  मिस क्याल्कुलेसन भयो, लापरवाही नै त भन्न सक्दिन,’महासचिव अग्रवालले भने ।

पुर्वाञ्चल पेट्राल ढुवानी व्यवसायी संघको उपाध्यक्ष गोपाल श्रेष्ठका अनुसार सिलगुडी पेट्रोल लिन गएको ट्यांकरहरु तेल हाल्न नपाएर विगत १८ दिनदेखि क्युमा बस्न बाध्य छन् । बिहिबार थोरै मात्र संख्यामा ट्यांकरले पेट्रोल पाएको र अझै २ दिन पेट्रोल नआउने भएकोले थप समस्या हुने उनले बताए । ‘आज शुक्रबार पनि निगमले नयाँ सफ्टवेयर शुरु गर्ने भनेर तेल कारोबार गरेन। भोली शनिबार विदा भयो, पर्सि आइतबार भारतमा सार्वजनिक विदा हुन्छ,’उनले भने,‘सिलगडीले मागे जति पेट्रोल दिनै सक्दैन, हाम्रो ट्यांकरहरु १८, १९ दिनदेखि क्युमा छ ।’

निगमको विराटनगर कार्यालयका प्रमुख नकुल भण्डारीसँग आवश्यक कुरा बुझ्न पटक पटक सम्पर्क गर्दा पनि मोवाइल उठाएनन् । निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले पेट्रोल अभावबारे जानकारी नआएको भन्दै आवश्यक कुरा बुझ्ने बताए । उनले भने,‘अहिले आपूर्तिमा समस्या नहुनु पर्ने हो, त्यस्तो मलाई जानकारी आएको छैन । पेट्रोल अभाव हुन दिदैनौं, के भएको हो, म बुझ्छुँ ।’