धरान: एक महिनाभन्दा बढी समयदेखि सुद्धिकरण आन्दोलन गरिरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक एवं जुनियर रेजिडेन्टहरु न्याय खोजी गर्दै प्रहरी कार्यालय पुगेका छन् ।

गए राती प्रतिष्ठानकै आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीले मदिरा सेवन गरेर एक डाक्टरलाई गालीगलौज गरेको, धम्की दिएको र आक्रमणको प्रयास गरेको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा पुगेका हुन् । पीडित भनिएका डाक्टर विप्लव कार्कीसहित चिकित्सकहरुको एक टोली ईलाका प्रहरी कार्यालय पुगेका थिए । डा.कार्कीले रायमाझीविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । तर, दर्ता भइसकेको छैन ।

गए राती रायमाझीले आफ्नो आवाससँगै जोडिएको डिएम अध्ययनरत डा. कार्कीलाई अपशब्द बोल्दै गालीगलौज गरेको र हातपातको प्रयास पनि गरेको भन्दै जुनियर रेजिडेन्टहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उनीहरुले डाक्टरलाई गालीगलौज र धम्की दिने रायमाझीलाई प्रतिष्ठानको जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग अघि सारेका छन् भने कानुनी कारबाहीको पनि माग गरेका छन् । उनीहरुले आजदेखि कोभिड अस्पताल र इर्मजेन्सी सेवाबाहेक सम्पुर्ण सेवा बहिष्कारको घोषणा गरेको छ । 

जुनियर रेजिडेन्ट वेल्फेयार सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले जिम्मेवार व्यक्तिले नै अमर्यादित व्यवहार गरेकोले जिम्मेवारीमुक्त गर्न माग गरिएको बताए । साथै, कानुनी कारबाही हुनुपर्ने भनेर प्रहरीमा जाहेरी दिन आएको उनले बताए ।

doc ujuri