धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्ने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन कार्यदल काठमाण्डौं फर्किएको छ ।

दुई दिनसम्म धरानमा रहेर आवश्यक जानकारी एवं कागजात अध्ययन गरेर कार्यदल मंगलबार साँझ काठमाण्डौं फर्किएको हो । प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको नेतृत्वमा सोमबार दिउँसो कार्यदल प्रतिष्ठान आइपुगेका थिए । प्रतिष्ठान आएलगत्तै आन्दोलनरत संयुक्त संघर्ष समितिसँग कार्यदलले छलफल गरेको थियो । त्यसपछि, कार्यदलले पदाधिकारीहरुसँग संयुक्त र छुट्टा छुट्टैरुपमा पनि भेटेर आवश्यक छलफल र जानकारी लिएको थियो ।

कार्यदलमा एक जना सदस्य प्रतिष्ठानकै सिनेटर एवं प्रा.डा.सञ्जिव शर्माबाहेक सबै विभिन्न मन्त्रालय र कार्यालयका उच्चअधिकारीहरु छन् । कार्यदलका संयोजक डा.अर्यालका अनुसार दुई दिनसम्म कार्यदलको विभिन्न समुह बनाएर सम्बन्धित विभागहरुमा कागजपत्र अध्ययन गर्न खटाइएको थियो । कार्यदलसँग सार्वजनिक खरीद अनुगमन कार्यालयबाट खरिदसम्बन्धी कागजपत्र अध्ययन गर्न थप २ जना उपसचिव पनि आएका थिए । 

संयोजक अर्यालको टोलीले भने प्रतिष्ठानका सरोकारवाला निकाय, विभागीय प्रमुख, धरान नागरिक दबाब सञ्जाल, प्रतिष्ठानका सिनेटर रहेका मेयर, उपमेयर र केही सञ्चारकर्मीहरुसँग पनि आवश्यक छलफल र जानकारी लिएको थियो । ‘हामीले बाँडिएर काम गर्यौं । खरिदसँग सम्बन्धित साथीहरुलाई खरिदको कागजपत्र हेर्न जिम्मा दियौं, कोही एकेडेमिक हेर्नुभयो । समग्रमा हामीले यहाँको वस्तुस्थिति बुझ्ने प्रयास गर्यौ,’संयोजक डा.अर्यालले भने,‘हामीले आवश्यक पर्ने जानकारीहरु संकलन गर्यौं, अब काठमाण्डौं फर्किएर विश्लेषण गछौं ।’

उनका अनुसार आवश्यक परेमा कार्यदल फेरि पनि प्रतिष्ठान आउनेछ । प्रतिष्ठानमा समस्या कहाँ कहाँ छ ? के कारणले समस्या भएको हो ? कसरी समाधान गर्ने भनेर पनि कार्यदलले क्लष्टर बनाएरै विश्लेषण गर्ने र प्रतिवेदन बुझाउने उनको भनाई छ । ‘हामी सुझावसहित प्रतिवेदन दिन्छौं, र प्रतिवेदन कार्यान्वयन गराउनेसम्मको काम हुन्छ,’उनले भने,‘कार्यान्वयन योग्य सुझाव सरकारलाई दिन्छौं, कार्यान्वयन गर्न र वीपीलाई राम्रो बनाउन सबैको सहयोग चाहिन्छ ।’