धरान: प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएको छ ।

प्रतिष्ठानको समग्र बेथिती एवं समस्यालाई अन्त्य गर्नुपर्ने माग राखेर संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएपछि प्रधानमन्त्री देउवाले ८ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेका थिए । प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्याल संयोजक रहेको वार्ता टोलीले अहिले आन्दोलनरत संयुक्त संघर्ष समितिसँग छलफल गरिरहेको छ । 

असार १ गतेदेखि प्रतिष्ठानलाई सुद्धि करण गर्न भन्दै चिकित्सक, कर्मचारी, विद्यार्थी र नर्सिङहरु आन्दोलनरत छन् । उनीहरुसँग असार १५ गते वार्ताको क्रममा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेको आएको भन्दै वार्ता बहिष्कार गरेका थिए । त्यसयता आन्दोलनकारी र पदाधिकारीहरुबीच संवाद हुन सकेको थिएन । आन्दोलनकारीहरुले चारै जना पदाधिकारीहरुको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए । संयुक्त संघर्ष समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने र सहकुलपति वा कुलपतिस्तरबाट गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिएका थिए । सोही माग वमोजिम कुलपति एवं प्रधानमन्त्री देउवाले उच्चस्तरीय कार्यदल गठन गरेका हुन् ।