धरान: माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजित 'एसइइ स्पिकर धरान २०७८, सिजन १' को फाइनलको लागि ७ जना उत्कृष्ट प्रतियोगी छनौट भएका छन् । 

रयाडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको कार्यक्रमको शनिबार भएको सेमिफाईनलबाट उत्कृष्ट ७ जना छनौट भएका हुन् । सेमीफाइनल कार्यक्रम धरान १३ नम्बर वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको हलमा आयोजना भएको थियो । फाइनलको लागि छनौट भएकाहरुमा चन्द्र सँस्कृत माबिका दिपेन भण्डारी, शारदा बालिका नमुना माबिका रेजिना बिक, शिक्षा सन्देस आवासिय माबिका मौसम पराजुली, ज्वालामुखी माबिका अन्कित ढुङ्गाना रहेका छन । त्यस्तै, सरस्वती माबिका अभिषेक राई, पब्लिक माबि फुश्रेका बिनोद काफ्ले र हिबिस्कस बोर्डिङ स्कुलका सदिक्षा राई रहेका छन् । 

गत श्रावण २ गते भएको पहिलो चरणबाट २३ जना सहभागी मध्ये उत्कृष्ट १५ जना सेमिफाईनलमा प्रबेश गरेका थिए। 'सामाजिक सन्जालले बिद्यार्थीलाई पारेको प्रभाव' शिर्षकमा प्रतिस्पर्धीहरुले बोलेका थिए । अधिकांश सहभागीहरुले सामाजिक सञ्जालको सदुपयोग गर्दा धेरै राम्रो र सकारात्मक प्रभाव परे पनि आजभोली दुरुपयोग धेरै हुन थालेकोले बिद्यार्थीलाई नकारात्मक प्रभाव पारेका र गम्भीरु प्रकारका दुर्घटना निम्त्याएको धारणा राखेका थिए ।

प्रालिका प्रबन्धक हिमाल कार्कीको अध्यक्षतामा आयोजित प्रतियोगिताको निर्णायकहरुमा कोशीपत्र राष्ट्रीय दैनिकका सम्पादक एबम महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेश बिद्रोही र समता स्कुल इटहरीका शिक्षक जे.पि.काफ्ले रहेका थिए।प्रतियोगिताको बिजेताले नगद ८ हजार रुपैयासहित राजधानीस्थित जेभियर इन्टरनेसनल कलेजमा प्लस टु अध्ययनका लागि पुर्ण छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । यस्तै, धरानमा अध्ययन गरेमा यु.एन.नबोदय कलेजमा पुर्णछात्रबृत्ती पाउने छन्।

see speaker1

फष्ट रनरअपले ५ हजार रुपैया नगदसहित जेभियरमा ५० प्रतिशत छात्रबृत्ती पाउने छन् भने धरानको धरान मेघा कलेजमा ५० प्रतिशत छात्रबृत्ती पाउने छन्।यसैगरि, सेकेण्ड रनरअपले ३ हजार रुपैया नगदसहित जेभियर कलेजमा ३० प्रतिशत छात्रबृत्ती पाउने छन् भने धरानमा अध्ययन गरेमा सुनाखरी एकेडेमिमा ३० प्रतिशत छात्रबृत्ती पाउने छन्। यस्तै, बेष्ट डिडिप्लिन र बेस्ट पब्लिक चोइसको उपाधी पाउनेले सियोन स्कुलमा प्लस टु अध्ययनको लागि ४० प्रतिशत छात्रबृत्ती पाउने छन्।

पहिलो चरण र सेमिफाइनलबाट बाहिरिएका सहभागीहरुलाई पनि प्लस टु अध्ययनका लागि धरानका कलेजमा २५ प्रतिशत छात्रबृत्ती प्रदान गर्ने ब्यबस्था गरिएको कार्यक्रम संयोजक एवं प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । महामारीको कारण लामो समयदेखि घरमा बसेका बिद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई यसअघि ब्युटी प्याजेन्ट सम्बन्धी प्रतियोगिता आयोजना गरिए पनि 'एसइइ स्पिकर' नाम दिएर यस किसिमको प्रतियोगिता पहिलो पटक आयोजना भएको उनले बताए । 

प्रतियोगीताको फाईनल साउन तेश्रो हप्ता हुने आयोजकले जनाएको छ। फाईनल राउण्डका लागि १०० पुर्णांक मध्ये दिइएको शिर्षकमा ७५ अंक र फिल्ड भिजिट गरेर अवलोकन गरि २५ अंक प्रदान गरिने समेत आयोजकले जनाएको छ। उत्कृष्ट ७ जनालाई जीवन उपयोगी शिक्षा,आधारभुत पत्रकारिता, ब्यक्तित्व बिकास, तनाब ब्यबस्थापन,  करियर निर्माण, साइबर अपराध, डाइनिङ एटिकेट, पयर्टनलगायत बिषयमा बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिए।