झापा:नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टी नक्कली भएको बताएका छन्।

झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टी नबन्ने र नचल्ने पनि दाबी गरे । उनले विश्वका प्रतिक्रियावादी शक्तिहरुको मुटु हल्लाइदिएको कारण एमाले फुटाउन प्रयास भएको जिकिर गरे । माधव नेपालले एमाले फुटाएको नभै कमजोर बनाउने प्रयास मात्र गरेको ओलीको दाबी थियो ।

 ‘माधव नेपालले पार्टी बनाउनु भएको छ, कहाँ पार्टी बन्छ त्यो ? बनाउनु भएको छैन, बन्दा पनि बन्दैन,’ओलीले भने,‘नक्कली पार्टी हो त्यो । एमाले फुटाउन होइन, कमजोर बनाउन तमासा गरेको हो । चल्ने वाला छैन । पार्टी बनाउन खोजेको हो र ? यत्रो पार्टी बनिसकेपछि फुटाउन खोज्नेले पार्टी बनाउछ ?बेकारको कुरा हो त्यो ।’

माधव नेपालले एउटा झुण्ड लिएर बाहिरिएको भन्दै ओलीले नेपालले जनताको भोटप्रति र पार्टीप्रति गद्दारी र बेइमानी गरेको आरोप लगाए । उनले माधव नेपालले वडा सदस्य पनि जित्न नसक्ने भन्दै कटाक्षसमेत गरे । ओलीले भने,‘माधव नेपालले वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट किन हाल्ने ? एमाले फुटाएको हुनाले ? एमाले चोइटाएको हुनाले ?’

अध्यक्ष ओलीले माधव नेपालको आलोचना गर्दै पार्टीबाट निरन्तर फाइदा लिएर पार्टीलाई भने रसातलमा पुर्याएको आरोप लगाए । नेपाल पार्टीमा १६ बर्षसम्म नेता भएको, प्रधानमन्त्री, विपक्षी दलको नेता भएको तर पार्टीलाई भने २४० सिटबाट ३३ सिटमा झारेको ओलीले बताए । ‘यस पार्टीबाट फाइदा लिनसम्म लिए, १६ बर्ष नेता भएर खाए, प्रधानमन्त्री भएर खाए, विपक्षी दलको नेता भएर खाए । पार्टीमा गुटबन्दी गरे, पार्टीलाई कहाँबाट कहाँ पुर्याए ?’ओलीले भने,‘पार्टीलाई माधव नेपालको नेतृत्वमा कहाँ पुर्याइयो भने २४० सिटबाट ३३ सिटमा पुर्याइयो । आफैले राजिनामा दिएर हिडे ।’

राजिनामा दिएपछि पनि माधव नेपाल चुप लागेर नबसेको भन्दै ओलीले पार्टीमा दुःख दिन थालेपछि प्रधानमन्त्री बनाएको बताए । ‘राजिनामा दिएपछि चुप लागेर बस्नु पदैन ? फेरि दुःख दिन थाल्यो । हामीले काँध हालेर प्रधानमन्त्री बनाइयो, कांग्रेसले साथ दिएको थियो । सकिन भनेर आफै हिड्या होइन ?’ओलीले भने,‘आफै चलाउन नसकेर पार्टीलाई रसातालमा पुर्याएर राजिनामा दिएर हिड्ने । अहिले फेरि अध्यक्ष चाहियो भन्ने ? पार्टीलाई रसातलमा पुर्याउन ?’

ओलीले युवाहरुले देखेको विशाल कम्युनिष्ट आन्दोलन र देशव्यापी कम्युनिष्ट आन्दोलनको सपनालाई नेकपा एमाले पार्टी बनाएर पुरा गरेको पनि बताए । उनले देशभित्र र बाहिर जहाँ पनि नेपाली भएको ठाउँमा नेकपा एमाले पुगेको दाबी गरे । ‘नेपालमा देशभित्र मात्र होइन, जहाँ नेपाली छन्, विदेशमा पनि जहाँ नेपाली, त्यहाँ एमाले छ,’ओलीले भने,‘ खेतमा एमाले, बारीमा एमाले, उद्योगमा एमाले, कलकारखानामा एमाले, व्यापारमा एमाले, चिया पसलमा एमाले, खाजा घरमा एमाले, कफि पसल र क्याफे हाउसमा एमाले । काम गर्ने ठाउँमा एमाले, हवाई मैदान बनाउने ठाउँमा एमलो, परेड खेल्ने ठाउँमा एमाले, पढ्ने ठाउँमा एमलो, पढाउने ठाएँमा एमाले, फिता नाप्ने ठाउँमा एमाले । विरामी जाँच्ने ठाउँमा एमाले ।’ विदेशमा भेटिएका नेपालीलाई कुन पार्टी भनेर सोध्दा एमाले भन्ने ओलीको भनाई थियो ।