धरान: आजदेखि धरानको भानुचोकदेखि लक्ष्मी चोकसम्म वान वे (एकतर्फी) प्रणालीमार्फत सवारीसाधन आवतजावत गर्न थालिएको छ । तर यो प्रणाली सबै प्रकारको गाडीहरु नभै तत्कालको लागि ठुला र मझौला खालका गाडीहरुको हकमा मात्र यो लागु हुनेछ । 

बिहिबार धरान उपमहानगरपालिकामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले तत्कालको लागि हेभी (ठुला) र मिनि (मझौला) खालका गाडीहरुलाई मात्र वान वे गर्ने निर्णय गरिएको हो । अन्य साना तथा २ चक्के, ३ चक्के मोटरसाइकल, सिटी सफारी, टेम्पोलगायत सवारीसाधनको हकमा भने तत्काल वान वे प्रणाली लागु हुने छैन । तर, भविष्यमा यी सवारीसाधनहरुलाई पनि वान वे गरिने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

उपमहानगरपालिकाको निर्णय अनुसार वान वे गर्न आज बिहानैदेखि नगर प्रहरी र ट्राफिक प्रहरीको टोली खटिएको छ । बिशेष गरि पहाडी क्षेत्रबाट आउने मालवाहक गाडी, ट्रक, ट्याक्टर, ट्रिपरलगायतका ठुला तथा मझौला गाडीहरुलाई लक्ष्मी चोकबाट वाइपास गरिरहेको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । लक्ष्मी चोकमा ट्राफिक सिग्नलसमेत राखिएको र त्यहाँबाट छाता चोक तिर आउन ठुला तथा मझौला गाडीहरुलाई निषेध गरिएको उनले बताए । ती गाडीहरु लक्ष्मीचोकबाट पृथ्वी चोक, पुरानो बजार, माछा भौडी हुदै मात्र भानुचोक पुग्न सक्नेछन् । तराईतिरबाट आएका गाडीहरु भने भानुचोकबाट छाताचोक हुदै लक्ष्मी चोक भएर पहाडी क्षेत्र जानसक्नेछन् । 

bhanu-chowk

तराई क्षेत्रबाट आएको ठुला तथा मझौला गाडीहरु भानुचोकदेखि लक्ष्मी चोक हुदै मात्र उत्तरतिर जानसक्छन् भने पहाडी क्षेत्रबाट आएका गाडीहरु लक्ष्मी चोकबाट पुरानो बजार, माछा भौडी हुदै मात्र भानुचोक पुग्न सक्छन् । यस्तै, ठुला गाडीहरु भानुचोकदेखि लक्ष्मीचोकसम्मको कोशी राजमार्गमा ठोक्किने सहायक बाटोबाट प्रवेश गरेपनि भानुचोक पुग्नको लागि लक्ष्मी चोक हुदै पुरानो बजार, भौडी हुदै नै आउनुपर्ने हुन्छ । यस्तै, पुरानो बजारतर्फ निस्केको ठुला तथा मझौला गाडी पनि लक्ष्मी चोक पुग्नुपर्ने भयो भने भानुचोक हुदै मात्र जान सक्नेछन् । 

बिहिबार(हिजो)को बैठकले उपप्रमुख संयोजक रहेको समितिले बजार क्षेत्रमा पर्ने कोशी राजमार्गको सडकमै हुने पार्किङलाई व्यवस्थित गर्न उपयुक्त विकल्प खोज्ने पनि निर्णय भएको छ । साथै, साना तथा २ पांग्रे सवारीहरुलाई पनि वान वे गराउन उचित सुझावको लागि पनि उक्त समितिलाई नै जिम्मेवारी दिइएको छ ।