धरान: अभिभावक संघ धरानले असोज १० गतेदेखि विद्यालय खोल्ने धरान उपमहानगरपालिकाको निर्णयलाई अदुरदर्शी, अपरिपक्क र अनुत्तरदायी भएको ठहर गरेको छ । 

संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिमिल्सिनाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै कार्यपालिकाको निर्णयबारे यस्तो प्रतिक्रिया दिएका हुन् । उपमहानगरपालिकाले सरोकारवाला पक्षसँग कुनै छलफल नगरी एकपक्षीयरुपमा विद्यालय खोल्ने निर्णय गरेको पनि संघले जनाएको छ । दुई दिनअघिसम्म भौतिकरुपमा कक्षा सञ्चालन गरेमा कारबाही गर्ने निर्देशन दिइरहेको उपमहानगरले शुक्रबार विद्यालय खोल्ने निर्णय गर्नु हास्यास्पद र शंकास्पद भएको पनि संघले विज्ञप्तीमा जनाएको छ । 

संघले विज्ञप्तीमा भनेको छ, ‘के कस्तो स्वास्थ्य मापदण्ड अपनाउने ? कक्षा कोठामा कति संख्यामा विद्यार्थी राखिन्छ ? कति समय पठनपाठन गराइन्छ ? त्यसको अनुगमन कस्ले गर्ने भन्ने बिषयमा अभिभावकलाई जानकारी दिनु पर्दैन ?’ संघले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय लिए नलिएको बारेमा पनि प्रश्न उठाएको छ । साथै, धरानका कोरोना संक्रमणको अवस्था के छ ? विद्यालय सञ्चालन पछि बालबालिका संक्रमण भएमा जिम्मेवारी कस्ले लिने ? भनेर पनि अभिभावक संघले उपमहानगरपालिकासँग प्रश्न गरेको छ । 

संघले विद्यालय र अभिभावकबीच सहमति र समन्वय गरि शुल्क लिने भन्ने निर्णय गरेकोप्रति पनि प्रश्न उठाएको छ । साथै, यी प्रश्नहरुको उत्तर नआएसम्म खोप नलगाएका, स्वास्थ्य मापदण्ड नबुझ्ने तथा अपनाउन नसक्ने ससाना बालबालिकाहरुलाई विद्यालय नपठाउन पनि अभिभावक संघले आग्रह गरेको छ । 

गत भदौ ३१ गते कार्यपालिका बैठकले तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको थियो । तर, आज शुक्रबार बसेको कार्यपालिका बैठकले नै उक्त निर्णय उल्टाउदै आइतबार असोज १० गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो । आफ्नै निर्णयमा अडिन नसकेको भन्दै कार्यपालिका तथा जनप्रतिनिधिहरुको चर्को आलोचना भइरहेको छ । 

parents