धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आइतबारदेखि धरानमा सुरु भएको छ । 
धरान ११ न. वडा, नवकला चोकस्थित मितेरी फुटसलमा आयोजित प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राई र फुटसलका संरक्षक ज्ञानबहादुर राईले गरेका थिए । मितेरी फुटसल र सिंगापुर लिफ टिमद्धारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा च्याम्स टिम विजयी भएको छ । उद्घाटन खेलमा च्याम्सले सिओन स्कुललाई ५–२ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलमा च्याम्स टिमका असिम राईले २ र दिवस सुनुवार, रोचक दिवारी, साजन राईले एक एक गोल गरेका थिए । सिओन स्कुलका तर्फवाट सुदिप तामाङ्ग र आषिस दर्नालले गोल गरेका थिए ।

प्रतियोगितामा कुल ३६ वटा टिम सहभागिता रहेको छ । पहिलो चरणमा १८ वटा खेल हुनेछ भने, १८ वटा टिम प्रिक्वाटर फाइनलमा प्रवेश गर्ने आयोजक मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए । सोमवारदेखि प्रि–क्वाटर र क्वाटर फाइनलक सवै खेल हुनेछ । असोज १२ गतेसम्म हुने प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्पदेखि भेडेटारसम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाउने आयोजनले जनाएको छ । यस्तै, धरानका पत्रकारहरुको पहलमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा सहयोग गरिने आयोजकले जानाएको छ ।
उद्घाटन समारोहमा मेयर राईले रेफ्रिलाई वल हस्तान्तरण गरि गोल पोस्टमा गोल प्रहार गरे पछि खेल सुचारु गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी कार्यलय धरानका प्रमुख डिएसपि कृष्ण श्रेष्ठ, इलाका प्रहरी कार्यलय धरानका इन्स्पेक्टर ज्ञानेन्द्र रायमाझी, कृति टेलिभिजनका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, वक्सिङ संघ सुनसरीका अध्यक्ष विकासकुमार गुभाजु, सेपाकटेक्रो संघ, सुनसरीका अध्यक्ष विरेन्द्रविक्रम लिम्वु लगायतको उपस्थिति रहेका थियो ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



