धरानः बराह ग्रुप अफ कम्पनीले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत संकलन भएको छ । 

कम्पनीका संस्थापक अध्यक्ष एवं परिकल्पनाकार स्वर्गीय इन्द्रकुमार लामिछाने विश्वकर्माको ६४ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बराहले हालै खरिद गरेर सञ्चालनमा ल्याएको धरान ८ स्थित धनकुटे रोडस्थित बराह कम्प्लेक्स परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेको बराह ग्रुपका प्रदेश १ प्रमुख मानबहादुर विश्वकर्मा दियालीले जानकारी दिए । उनका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान भएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए । 

बराहले ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसाथ गर्दै साथै धरानलाई रक्तदाताको सहर बनाउने लक्ष्यका साथ रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । बराहले प्रत्येक महिना रक्तदान कार्यक्रम गर्ने पनि जनाएको छ । रक्तदान कार्यक्रम आयोजना गर्न चाहने संघसंस्थाहरुलाई पनि बराहले आफ्नो व्यवासायिक भवन परिसर उपलब्ध गराउने गरि सहकार्य गर्ने पनि दियालीले जानकारी दिए । 'हामी हरेक महिना रक्तदान कार्यक्रम गर्ने योजनामा छौ, कसैले चाहनु भयो भने उहाँहरुलाई पनि रक्तदानको लागि यो ठाउँ उपलब्ध गराउछौ,' उनले भने । 

बराहले धरानलाई रक्तदाताहरुको सहरकोरुपमा चिनाउने अभियान अनुसार २०६७ सालदेखि रक्तदान गर्दै आएको छ । पहिलो बर्ष ४९ पिन्ट, २०६८ सालमा ५९ पिन्ट, २०६९ सालमा २१५ पिन्ट, २०७० सालमा ३१९ पिन्ट, २०७१ सालमा ५४ पिन्ट, २०७२ सालमा ७१४ पिन्ट, २०७३ सालमा ४६१ पिन्ट, २०७४ सालमा १ हजार ५६ पिन्ट रगत बराहले संकलन गरेको थियो । यस्तै, २०७५ सालमा ७९७ पिन्ट रगत बराहले संकलन गरेको थियो । 

२०७४ भादौ ३ गते २३ औं वार्षिकउत्सवको अवसरमा १ हजार ५६ पिन्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा धरानका अनुसार ब्यवसायिक प्रतिष्ठानले आयोजना गरेको एक दिने रक्तदान कार्यक्रममा पूर्वाञ्चलमा नै यो पहिलो रेकर्ड भएको र देशभरीको संकलनमा दोस्रो रेकर्ड भएको जनाएको थियो ।