धरानः पछिल्लो समय धरानको रंगमञ्चलाई उठाउन प्रयासरत युवा रंगकर्मीहरु विभिन्न सृर्जनात्मक कार्यमा सक्रिय छन् । त्यसैको एउटा उदाहरण हो, शुक्रबार धरान १० स्थित होटल वाइट डोभमा आयोजित एक कार्यक्रम ।

 ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रम हो । गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रम सामान्य लागेपनि यहाँका युवा गायन क्षेत्रका कलाकार तथा युवा रंगकर्मीहरुको सृर्जनशीलतालाई यसले प्रस्तुत गरेको छ । यो म्युजिक भिडियोलाई कुपी क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार बम देवानले एक समारोहबीच म्युजिक भिडियो सार्वजनिक गरेका थिए । 

kupi10

रिक्सा कुदाउने एक युवा र सब्जी व्यापार गर्ने युवतीबीचको प्रेमलाई गीतको भावमा म्युजिक भिडियोले सुन्दर तरिकाले पस्किएको छ । गीतमा रंगकर्मी विष्णु मोक्तान रिक्सा चालक र तुलसा थापा सब्जीवालीको भुमिकामा छिन् । भिडियोको निर्देशन युवा कलाकार तथा रंगकर्मी हरि ईवाहाङ लिम्बूले गरेका हुन् । यो गीतको रचनाकार कवि तथा गीतकार विशाल नाल्वो हुन् भने कुमार प्रधान कल्पित र प्रिया लामा तामाङको स्वर रहेको छ ।  साथै, एरेन्जरमा सुम समीर, मिक्सिङ, मास्टरिङ तथा रेकडिष्टमा कपिल सुनुवार रहेका छन् । म्युजिक भिडियोको छायाङ्कन देवराज सिग्देलले गरेका हुन् भने अनिल राना मगरले सम्पादन गरेका छन् । 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा धरान वडा नं १३ का वडाध्यक्ष नेत्र काफ्ले, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक प्रेम सुब्बा, विजयपुर हस्पिटलका व्यवस्थापक एवं कवि इन्दु योञ्जन, निर्माता तथा कलाकार नविन मेन्याङ्बो, संगीत प्रशिक्षक विनायक राईलगायतको उपस्थिति रहेको थियो । वक्ताहरुले म्युजिक भिडियोको प्रशंसा गरेका थिए । 


kupi9