धरान: चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरुलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु गर्न थालेको छ । 

धरान वडा नं. १६ को वडा कार्यालयमा आईतबार आयोजित कार्यक्रममा वडाका टोल विकास संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुलाई कुनै पनि सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशिनाथ घिमिरेले आवश्यक परेको खण्डमा खाद्य स्वच्छता सम्बन्धि प्राविधिक शिक्षा दिने बताउँदै प्रोजेक्टर मार्फत खाद्य स्वच्छता, गुणस्तरिय वस्तु उपभोग गर्न, पोषण शिक्षाको बारेमा जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले उपभोक्ताहरुलाई कुनै पनि सामान खरिद गर्दा उत्पादन भएको मिति, सकिने मिति र त्यससँगै लेखिएको मूल्य हेरेर मात्र खरिद गर्न आग्रह गरे । मेयर राईले यसबारेमा बेलाबेलामा सचेतनामुलक कार्यक्रमहरु गरेर उपभोक्ताहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए । मेयर राईले व्यापारीहरुलाई सचेत गराउने जिम्मेवारी नै उपभोक्ताहरुको रहेको बताउँदै सबै कुरामा ग्राहक नै सक्षम हुनुपर्ने बताए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले संघले धरान लगायत सुनसरीका धेरै स्थानहरुमा गत वर्षदेखि नै यस्तो सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिए । व्यवसायी र उपभोक्ताहरुबाट पनि कमी कमजोरी हुनसक्ने बताउँदै अध्यक्ष सापकोटाले कसैको हल्लाको पछि लागेर आवश्यकता भन्दाबढी खाद्य सामाग्री सञ्चित नगर्न पनि आग्रह गरे । 

उनले कुनै पनि सामान खरिद गर्दा लेवलिङ हेरेर मात्र सामान खरिद गर्न आग्रह गरे । बाहिर देशबाट खरिद गरेर ल्याउनु परेका कारण मूल्यवृद्धि भएको उनको भनाई थियो । उनले धरानका नौ वटा राजनितीक दल र विभिन्न संघ संस्थाहरुले मूल्य निर्धारण गर्न संघमा ज्ञापन पत्र बुझाएको पनि बताए । वडा नं १६ का वडाध्यक्ष दिल कुमार गिरीले खाद्य स्वच्छता सम्बन्धी टोल विकास संस्था र उपभोक्ताहरुले थाहाँ पाउन जरुरी रहेकोले कार्यक्रम आयोजना गरिएको बताए।