विराटनगर: संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या घटनाका अभियुक्तहरुलाई पक्राउ गर्न महत्वपुर्ण योगदान दिने दुई प्रहरी अधिकृतले एक लाख रुपैयाको पुरस्कार पाएका छन् । 

प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काले एक लाख रुपैयाको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका हुन् । उनीहरुलाई बुधबार ६६ औं प्रहरी दिवसको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहमा पुरस्कार वितरण गरिएको थियो । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक खतिवडा र प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक खडका पुरस्करको लागि छानिएका थिए ।

 दुवैले गएको भदौ २१ गते संखुवासभाको मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या घटनाको सफल अनुसन्धान गरेको र ५ जना अभियुक्तहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भई आम जनतालाई सुरक्षाको अनुभूति दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुवैको कार्यले आम नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउन तथा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्न प्रशंसनीय कार्य गरेकोले उच्च मुल्यांकन गर्दै १ लाख धनराशीको पुरस्कारले पुरस्कृत गरिएको प्रदेश प्रहरीको भनाई छ । 

bikram-sth

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठलेले पुरस्कृत प्रहरीद्धय खतिवड र खड्कालाई १ लाखको चेक तथा प्रशंसा पत्र प्रदान गरेका थिए । यो पुरस्कार डा.श्रेष्ठले आफ्नो स्वर्गीय आमा साधनादेवीको स्मृतिमा प्रहरीको मनोवल उच्च बनाउन स्थापना गरेका हुन् । बर्ष भरि उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी दिवसको अवसरमा बर्षेनी पुरस्कृत गरिदै आएको छ । प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न पुरस्कारले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै पुरस्कार कोषको संस्थापक डा.श्रेष्ठलाई धन्यवाद दिएका थिए । 

 पुरस्कृत प्रहरीद्धय खतिवडा र खड्काले आफूहरुबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा छनौट गरेर संगठनले ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिए । पुरस्कार कोषका संस्थापक डा.श्रेष्ठले प्रहरीको मनोबल बढाउन उत्कृष्ट प्रहरीलाई पुरस्कृत गर्न पाएकोमा आफु मात्र नभएर परिवार नै खुसी भएको बताए । कार्यक्रममा पुरस्कारका संस्थापक प्रा.डा. श्रेष्ठलाई प्रमुख अतिथी मुख्यमन्त्री भीम प्रसाद आचार्यले दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।