धरान: धरान २ रत्न रोडबाट २२ तोलाभन्दा बढी सुनको बाला र नगद १८ लाखसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान १५ का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रामबहादुर मामा र चन्द्र भाञ्जा हुन् । दुवैको साथबाट प्रहरीले ५ वटा सुनको बाला र नगद १८ लाख वरामद गरेको जनाएको छ । सुनको बालाको कुल तौल २२ तोला २ आना २ लाल रहेको छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । वरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ । 

पक्राउ परेका मध्ये भाञ्जा चन्द्र २५ दिनको विदमा विदेशबाट हालै मात्र घर आएको खुलेको छ । तर, उनी कुन देशबाट आएका हुन् भन्ने खुल्न सकेको छैन । विदेशमा कमाई गरेर सुन किनेर ल्याएको र त्यसलाई बिक्री गरेर जग्गा किन्न खोज्दा मामासहित पक्राउ परेको उनका एक आफन्तले नाम नखुलाउने सर्तमा बताए । ती आफन्तले भने, 'विदेशबाट कमाइ गरेर ल्याएको सम्पत्ति हो । त्यो सुन बेचेर जग्गा किन्ने भन्दै थियो । कहाँ फस्यो ।'

प्रहरीले बिशेष सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अवैधरुपमा केही व्यक्तिले सुन बेच्न खोजिरहेको भन्ने सुचना पाएपछि निगरानी बढाइएको बताए । सोही क्रममा उनीहरु रत्न रोडबाट पक्राउ परेको डिएसपी कुँवरको भनाई छ ।  प्रहरीका अनुसार  दुवै जना रत्न रोडस्थित न्यु सुर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। डिएसपी कुँवरले भने,'प्रहरीले उनीहरुलाई पसल नजिकैबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेका छ । '

यता, न्यु सुर्य लक्ष्मी स्टोरका सञ्चालक संविधान शाक्यले भने दुवै जना पसलमा सुन बिक्री गर्न भनेर आएपनि आफुले खरिद नगरेको र पसलबाट गइसके पछि प्रहरीले पक्राउ गरेको बताए । दुवै जना सुनको बाला बेच्न अन्य पसलहरुमा पनि भाउ बुझ्दै हिडेको र सोही क्रममा आफ्नो पसलमा आएको उनले बताए । ‘उहाँहरु सुन पसलमा भाउ बुझ्दै हिड्नु भएको रहेछ । मेरोमा पनि आउनु भयो, तर मैले लिदिन भने,’शाक्यले भने, उहाँहरुले २५० ग्रामको हिसाब गरिदिनु भन्यो । मैले हिसाब गरेर २० लाख जति हुन्छ भने । मेरो कार्ड माग्नु भयो, मैले त्यसमा नाम र फोन नम्बर लेखिदिए । त्यसपछि उहाँहरु जानु भयो । केही बेरमा प्रहरीले घिसादै लिएर आयो, एक जनाले कालो ब्याग फुत्त दोकानमा फाल्यो । मेरोमा कारोबार भएको पनि छैन, पैसा यहाँ भेटेको पनि होइन, यहाँ समातेको पनि होइन ।’