धरान: धरान १४, विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा मिठो सारङ्गी धुन बजिरहन्छ । नेपाली लोक सँस्कृति झल्काउने गीतहरुको धुन बजाउने यी युवा हुन्, सुवास गन्धर्व । 

उनी बसेको भुईअघि रुमाल फिजारिएको छ । बुढासुब्बा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सुवासले बजाएको सारङ्गी धुनले टक्क अडिन्छन्,र कोही फोटो खिच्न थाल्छन्, कोही गोजीबाट नोट निकालेर रुमालमा राखिदिन्छन् । सुवास उत्साहित हुदै गाइदिन्छन्, आफ्नो ठुलोबुबा सुरेश गन्धर्वको चर्चित गीत, 'रिंकेबुङको राँगोलाई...।'

subash3

सुवासको यसरी दैनिकी र जिन्दगी चलेको डेढ दशक बितिसकेको छ । उनले सारङ्गी बोकेर डुल्दै गीत गाउदै थुप्रै वसन्तहरु पार गरेका छन् । तर गएको २ बर्ष विश्वव्यापी महामारी बनेको कोरोनाको समय उनी जस्तै गीत गाउदै हिड्ने गन्धर्वहरुको लागि पनि असाध्यै पीडादायी समय बन्यो । त्यो समय उनले आफ्नो पुख्यौली थलो भोजपुरको जरायोटारतिरै बिताए । ‘हामी जस्तो गीत गाएर डुलिरहनेहरुलाई धेरै प्रभाव पार्यो, आज के गरि खाने, बेलुकी के गर्ने भन्ने भयो । पापी पेटको सवाल छ,’उनले भने,‘त्यतिबेला गाउँघरमा नै बसेर काम खोज्यौ । ठेकेदारले पनि भनेको बेला पैदा दिन नसक्ने अवस्था थियो ।’

उनले सारङ्गी बजाउन र गीत गाउन आफ्नै बाउ, बाजेबाट सिकेका हुन् । सारंगी गन्धर्वहरुको पहिचान हो । गन्धर्वहरु गाउँघरका लोक भाकाहरुलाई सारंगीको धुनमा गाउदै हिड्छन्, र यसैबाट उनीहरुले जिविका चलाउने परम्परा हो । तर, समयसँगै गन्धर्वहरुको यो पहिचान, सँस्कृति लोप हुने चिन्ता पनि छ । पछिल्लो पुस्ता पढ्न थालेका छन्, र समयअनुकुल पेशा, व्यवसायतर्फ आकर्षित छन् । सुवासकै कतिपय साथीहरु वैदेशिक रोजगारीमा गइसकेका छन् ।

subash1

उनले आफ्ना दुई छोरालाई सारंगी त सिकाउदैछन्, तर गीत गाउदै, सारंगी बजाउदै हिड्न नसक्ने हुन् कि भन्ने डर छ । 'अहिलेकाहरु यसरी गीत गाउदै बजाएर हिड्न नसक्ने हो कि भन्ने डर लाग्छ, कतिले यसरी गीत गाउदा राम्रो भन्छन्, कतिले भिख मागेको भन्छन् । प्रायःले माग्नेको दर्जामा हेरिदिन्छन्,'उनी भन्छन् ।

अरुले जे भने पनि सुवासलाई भने खुशी लाग्छ । गन्धर्वहरुको पेशा नेपाली कला, सँस्कृति र पहिचान भएको उनको ठहर छ । 'माग्ने नै भनेपछि मलाई त खुशी लाग्छ । कला सँस्कृति हो, नेपालीको पहिचान हो,गन्धर्वहरुले पहिलादेखि नै गरिरहेको हुनाले अहिलेसम्म गरिरहेका छौ,' उनी भन्छन् । आफुसँगैको साथीहरु खाडी मुलुक गएपनि आफु भने सारंगी र सँस्कृति मोहले नगएको उनले बताए । फ्रि भिषा र फ्रि टिकट पाए भने जाने तर उता पनि सारंगी बजाएर कला, सँस्कृति देखाउन पाए मात्र जाने उनको अडान छ । 'उता काम राम्रो होस्, मैले गर्नसक्ने खालको । भरसक यो सारंगी बाजालाई उता गएर पनि देखाउन पाउ, त्यस्तो हो भने मात्र जान्छु,'उनले भने ।

भिडियो:

subash2