धरान: ड्रिम मोडलिङ एजेन्सी इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा जारी जुनियर मिस धरान–२०२१ को उपाधिका लागी २३ जना बालिकाहरू भिड्ने भएका छन् ।

यही कार्तिक १३ गते शनिबार बीपी प्रतिष्ठान धरानको दसहरा हलमा दिउँसो १ बजे फिनाले हुने आयोजक प्रालिले जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनमा गर्दै प्रालिका सिइओ सौरभमान भण्डारीले बालिकाहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जुनियर मिस धरान आयोजना गरिएको बताए । भण्डारीले भने,'उपाधिका लागी २३ जना बालिकाहरू छन्, र हाल तालिम भइरहेको छ ।'

प्रालिले यो कार्यक्रम धरानमा पहिलो पटक हुन लागेको दाबी गरेको छ । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ पाउनेछन् भने ५ लाख रुपैयाँ बराबरको बिमा प्राप्त गर्ने पनि भण्डारीले बताए । त्यस्तै, फस्ट रनरअपले १० हजार रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बिमा र सेकेन्ड रनरअपले नगद ५ हजार रुपैयाँ सहित २ लाख रुपैयाँको बिमा प्राप्त गर्ने उनले जानकारी दिए ।

गत फागुनदेखि नै सुरु भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएर पुनः भदौ २२ गतेदेखि बन्द परिक्षण शुरु गरिएको कार्यक्रम संयोजक निश्चल पलिखेले जानकारी दिए । ६ देखि १४ बर्षसम्मका बालिकाहरू सहभागी रहेको प्रतियोगितामा विजेताहरू बाहेक १२ वटा अन्य टाइटलमा समेत पुरस्कृत हुने पलिखेले बताए ।