धरान: भाइटीकाको दिन १ नम्बर प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा ३ जनाको ज्यान गएको छ । 

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरी, मोरङ र संखुवासभामा ३ जनाले ज्यान गुमाएको हो । प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका १ राजापोखरीस्थित पुर्व(पश्चिम राजमार्गमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामधुनी नगरपालिका ८ का ५९ बर्षीय सत्य नारायण साह रहेका छन् । आज (शनिबार) बिहान ८ बजे आफैले चलाएको साईकलबाट लडेर उनी घाईते भएका थिए । उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै गरि, मोरङको बेलबारी नगरपालिका ९ का ७२ बर्षीय हर्क बहादुर राईको पनि लडेर मृत्यु भएको छ । दिउसो ३ बजे डागाबजार चोकमा रहेको काठको फलैचाबाट लडेर उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी प्रेसरको बिरामी भएको आफन्तले जानकारी दिएको प्रहरीको भनाई छ । 

यस्तै, संखुवासभाको सभापोखरी गाउँपालिका ६ पात्ले दहस्थित सभाखोलाले बगाएका दुई बालक मध्ये एक जना मृत अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको  । अर्का बालक भने बेपता छन् । मृत्यु हुनेमा सोही स्थानका भक्त बहादुर बिकका ९ बर्षीय छोरा बिपन बिक रहेका छन् । उनकै घरमा पाहुना आएका सभापोखरी गाउँपालिका १ का हरि बहादुर बिकको ८ बर्षीय छोरा रैतिन बिक बेपत्ता भएका छन् । 

दिउसो १ बजे उनीहरु नुहाउने क्रममा खोलाले बगाएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली खटिएर खोजी गर्दा बिपनलाई बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अर्का बालक रैतिनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।