धरान: महेन्द्र क्याम्पसको जग्गा हडप्न भिआइपी, शक्तिवाल जग्गा दलालहरुको चलखेल रहेको पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताएका छन् ।

क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा पुर्वक्याम्पस प्रमुख कार्कीले यस्तो बताएका हुन् । धरानका पुर्वमेयरसमेत रहेको कार्कीले ४० बर्षसम्म कसैलाई थाह नभएको मोहीबारे लालपुर्जाको गोपनियता जग्गा दलालहरुले पाएको र थाहै नदिई हडप्ने प्रपञ्च मिलाएको बताए । मोहीको छोरालाई अघि सारेर क्याम्पसको जग्गा हडप्न खोज्नेहरु समाजको सक्षम, विद्धान, धुर्त र पैसावालाहरु भएको कार्कीको भनई छ । 

कार्कीका अनुसार सरकारी र सार्वजनिक सम्पत्ति कहाँबाट पाउन सकिन्छ भनेर खोजी गर्ने गिरोह रहेको र त्यसैको फन्दा क्याम्पस परेको बताए । ‘१६ कट्ठा जग्गाको ८ कट्ठा पाउने, १५ २० लाख धुरको कति होला ? को को लागेका होलान् भन्न सक्दिन तर समाजको सक्षम, धुर्त, विद्धान सबै किसिमको मान्छे छ,’पुर्वक्याम्पस प्रमुख कार्कीले भने,‘मैले यहाँ २०२९ सालदेखि पढाउन थालेको हो, त्यो जग्गामा मोही छ भन्ने थाह थिएन ।’

kumar-karki

क्याम्पसले उक्त जग्गामा व्यापारिक भवन बनाएको र त्यसको नक्सा पास गर्ने क्रममा लालपुर्जा ठेकेदारको हातमा पुगेपछि मोही भएको कुरा जग्गा दलालहरुसम्म पुगेको पनि पुर्वक्याम्पस प्रमुख कार्कीले बताए । ‘त्यहाँ जब घर बनाउने भयो । कसैले ठेक्का पायो । ४० बर्षसम्म नदेखेको चिज अनि बाहिरियो, मोही छ भन्ने । लालपुर्जा क्याम्पसबाट ठेकेदारमा पुग्यो । ठेकेदारले कसलाई पठायो, त्यहाँ मोही छ भनेर कसैले थाह पायो । क्याम्पसमा थाहै नदिई ठाउँ ठाउँमा के के गरे, खेल खेल्दै गए,’कार्कीले भने,‘त्यसरी लालपुर्जाको गोपनियता खुल्यो, र जग्गा दलालहरुले भेटे, र क्याम्पसलाई थाहै नदिई परिपञ्च मिलाए ।’

कार्कीका अनुसार क्याम्पस प्रमुख र मेयरको आग्रहमा मोही पक्षसँग आफुहरुले छलफल गरेको पनि जानकारी दिए । मृतक मोहीको छोरा यज्ञबहादुरसँग छलफल सकरात्मक भएपनि भाउजु  लिएर आउने भनेको र पछि भाउजुसँग कुरा गर्दा ठ्याक्कै आधार जग्गा चाहिन्छ भनेको पनि बताए। ‘ती महिला मानेनन्, ठ्याक्कै आधा जग्गा चाहिन्छ भनिन्,’उनले भने,‘हुनेसम्म कलेजले गर्छ, हामी गछौ भन्यौ । पछि छलफलमा आउदै आएनन् ।’ 

विगत सम्झेर कसैलाई दोषरोपण गर्नुभन्दा सम्बन्धित सबैलाई राखेर सम्पुर्ण धरान क्याम्पसको पक्षमा छ भन्ने वातावरण तयार गर्नुपर्ने कार्कीले सुझाव दिए । क्याम्पसको जग्गा हडप्न खोज्नेहरु धेरै चलाख रहेको भन्दै उनले क्याम्पस परिवार, नगरपालिका, धरानको नागरिक समाज मिलेर मात्र जग्गा संरक्षण हुनसक्ने पनि बताए । ‘नत्र अनेक हुनसक्छन् । बालुवाटार, सट्टा भर्ना दिइसकेको जलाधर क्षेत्र खानेले यो पनि खानसक्छ,’उनले भने,‘कुनै पनि हालतमा त्यो जग्गा जान दिनु हुदैन । राम्रो कामको निमित्त जर्बजस्ती पनि गर्नुपर्छ । नियत सफा हुनुपर्छ, कल्याणकारी हुनुपर्छ, सार्वजनिक हुनुपर्छ, ती गलत तत्वहरुलाई एक्लाउनुपर्छ ।’