विराटनगर : थालासेमिया पीडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ ।

क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पीडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । सम्पर्कमा आएका बिरामीहरुमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले बताए ।

आवर प्रोडक्सन कम्पनीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिरामीको उपचारको सहयोग संकलनका साथै ढाकाबाट बनेका तयारी पोेशाक र ‘फेशन वेयर’को प्रर्वद्धन समेत गरिएको थियो । मिस युनिभर्स २०१९ की रनरअप रहेकी रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम, चर्चित मोडेल प्रमिता राना र विनोद खड्का लगायतले उक्त पोशाक पहिरिएर प्रर्दशन गरेका थिए । प्रर्दशनीका निम्त्ति आयोजकले विराटनगरको तनश्का बुटिक, इटहरीको व्हाइट फिदर र ओएसटी डेनिमलाई फेशनसँग सहकार्य गरेको थियो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले थलासेमिया पिडित बिरामीको उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनीहरुलाई उपचारको दायरामा ल्याउन प्रदेश सरकार पछि नहट्ने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गीतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राई, प्रदेशसभा सदस्य बिन्दिया कार्की र नेकपा एमाले विराटनगर महानगर अध्यक्ष सागर थापा लगायतको सहभागिता रहेको थियो ।